मलाई प्रधानमन्त्री केही जस्तो पनि लाग्दैन, म दाबी गर्दिनँ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र संविधान बचाउनु मुख्य रहेको भन्दै प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने बताएका छन् ।

असंवैधानिक कदमका विरुद्ध परिवर्तनकारी शक्ति एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै प्रचण्डले पद मुख्य विषय नभएको जिकिर गरे ।

योहो टेलिभिजनसँगको अन्तर्वार्तामा प्रचण्डले भनेका छन्, ‘राष्ट्र र जनताका लागि समर्पित भएर उत्पीडित जाति, मधेसी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम सबैलाई अधिकारसम्पन्न गर्ने लडाइँ लडेको मान्छे मलाई प्रधानमन्त्री केहीजस्तो पनि छैन । म दाबी गर्दिनँ ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन पनि तयार रहेको बताए । न्यायालयले संविधान र नजिर हेर्ने भन्दै प्रचण्डले प्रतिनिधिसभा पुनस्र्थापना हुने बताए ।

गृहमन्त्री रामबहादुर थापा बादल केही समयपछि आफ्नो पार्टीमा आउने विश्वास उनको छ । प्रचण्डले भनेका छन्, ‘त्यतिवेला पार्टी एकता भइसकेको थिएन, माओवादी केन्द्रको तर्फबाट मुख्य नेतृत्व गर्ने गरी बादललाई पठाएँ, मलाई त्यसमा पच्छाताप अहिले पनि छैन । केही समयपछि उहाँ आउनुहुन्छ, यहाँ नआई सुखै छैन । उहाँसँग भएका सबै साथी यहीँ छन् । एक–दुईजना चामलको बिया होलान् उहाँसँग, नत्र पूरैको पूरै टिम यहीँ छ त, उहाँ कसरी सक्नुहुन्छ । केपीले त केही दिन उपयोग गर्ने हो, फालिदिने हो । उहाँलाई सम्मान गर्छन् त उनले ?’