भारतीय राजदूतको सक्रियतासँगै ओली र देउवाको तीन घन्टा लामो भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच तीन घन्टाभन्दा लामो भेटवार्ता भएको छ ।

शनिबार दिउँसो ३ बजेदेखि बेलुकी ६ बजेर १० मिनेटसम्म ओली र देउवाबीच बालुवाटारमा अर्थपूर्ण भेटवार्ता भएको हो ।

भारतीय राजदूत विनयमोहन क्वात्राले देउवालाई उनकै निवासमा भेटेपछि ओली र देउवाबीच भएको भेटवार्तालाई अर्थपूर्णरुपमा लिइएको छ । क्वात्राले देउवालाई बूढानीलकण्ठस्थित देउवा निवासमा शुक्रबार लामो छलफल गरेका थिए । कांग्रेस सांसद अमरेशकुमार सिंहको सक्रियतामा ओली र देउवाबीच भेटवार्ता भएको भेटवार्तामा सहभागी एक नेताले जानकारी दिए ।

ओली र देउवाबीचको भेटवार्ता विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा केन्द्रित रहेको देउवाका स्वकीय सचिव भानु देउवाले बताए । तर, एक नेताले अनौपचारिक संवादपछि समसामयिक राजनीतिक घटनाक्रममा औपचारिक छलफल भएको बताएका छन् । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला भएको ओली देउवा भेटवार्तालाई अर्थपूर्णरुपमा लिइएको छ ।

बालुवाटारमा भएको भेटवार्तामा ओलीसँगै नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत सहभागी थिए । तर, ओली निकट मानिएका अर्थमन्त्री विष्णु पौडेललाई भने भेटवार्ताबारे जानकारीसमेत नदिइएको बालुवाटार स्रोतले जनाएको छ ।

महासचिव पौडेलले बेलुकी ओलीसँग छुट्टै छलफल गरेका छन् । त्यहीँ क्रममा देउवासँगको भेटवार्ताबारेमा महासचिव पौडेलले जानकारी पाएका थिए । ओलीले आफू निकट भएपनि पौडेललाई शंकाको दृष्टिले हेर्ने गरेका स्रोतको भनाइ छ ।

ओलीसँग भेटवार्ताका लागि देउवाले आफ्ना विश्वासपात्र रमेश लेखक र गोपालमान श्रेष्ठलाई बालुवाटार लगेर गएका थिए । हिजो नै कांग्रेस सांसद सिंहले नेकपाका अन्य नेताहरुसँग निवास पुगेरै भेटवार्ता गरेको स्रोतको भनाइ छ ।