चौदण्डीगढीलाई एपीएफको १४ गोल

सावित्रा भण्डारी एक्लैले टोलीका लागि ८ गोल गर्दा विभागीय टोली एपीएफले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा चौदण्डीगढी नगरपालिकामाथि १४–० को फराकिलो जित निकालेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा जारी लिगमा कमजोर देखिएको चौदण्डीगढीमाथि गोलको वर्षा गरेको हो । फराकिलो जित निकालेको एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई सोमबार पनि कायम नै राखेको छ ।

फराकिलो जित निकाल्दा सावित्राका अलावा अनिता बस्नेत र अनिता केसीले समान २/२ गोल गर्दा अनु लामाले र रविना लामाले एक/एक गोल आफ्नो नाममा लेखाए । पहिलो हाफमा ७ गोल गरेको एपीएफले दोस्रो हाफमा पनि ७ गोल थपेर फराकिलो जित निकालेको हो ।

पहिलो चरणको खेलमा चोदण्डीगढीमाथि २२ गोल गरेको एपीएफले ७ खेलबाट स्पष्ट जित निकाल्दै शीर्षता कायम राखेको छ । एपीएफले ७ खेलमा २१ अंक जोडेको हो । एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो । पराजित चौदण्डीको यो लगातार सातौँ हार हो । चौदण्डीगढीले अहिलेसम्म तालिकामा अझै खाता खोल्न सकेको छैन् ।

चौदण्डीगढी अंकविहीन रहँदै पुछारमा रहेको छ । अहिलेसम्मका खेल सम्पन्न हुँदा चौदण्डीगढीले सबै खेलमा गरेर कूल ८६ गोल खाँदा एक गोल गरेको छ भने एपिएफले एक गोल पनि खाएको छैन । ७ खेल सम्पन्न हुँदा एपीएफले कुल ५७ गोल गरेको छ ।