करिष्मा मानन्धरलाई ‘महानायिका’ उपाधि दिइयो

अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधिबाट सम्मान गरिएको छ। शनिबार काठमाडौंमा आयोजित आरके इन्टरटेनमेन्ट ग्रुपले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा करिश्मालाई महानायिका उपाधिबाट सम्मान दिएको हो।

आरके इन्टरटेनमेन्ट ग्रुपले एघार वर्षअघि, आफ्नो नवौं वार्षिकोत्सवमा अभिनेता राजेश हमाललाई महानायकको उपाधिबाट सम्मान गरेको थियो। सम्मानित भएपछि करिष्माले भनेकी छिन्, –‘जुन सम्बोधन गरेर मलाई सम्मान प्रदान गर्नुभयो । म यसलाई एउटा कलाकारलाई गरेको सम्मानका रुपमा लिएकी छु । र, उहाँहरुप्रति धेरै आभारी छु ।’

सन् १९७४ मा ललितपुरमा जन्मिएकी करिश्माले १४ वर्षको उमेरमा ‘सन्तान’बाट डेब्यु गरेकी हुन् । ‘कस्तुरी’ चलचित्रमा काम गरेपछि करिष्माले निर्देशक विनोद मानन्धरसँग विवाह गरिन् । एकताका यस्तो पनि थियो कि, नायिका भनेकै करिष्मा हुन् । त्यसबखत उनले एकपछि अर्को हिट फिल्म दिइन् । उनका मायालु, ट्रक ड्राइभर, भाउजू, पंन्छी, रणभूमि, बसन्ती जस्ता चलचित्र हिट भए ।

तर, पछि आफ्नै लगानीमा ‘ढुकढुकी’, ‘बाबुसाहेब’ जस्ता चलचित्र निर्माण गरिन् । आफैले मूख्य भूमिकामा अभिनय गरिन् । चलचित्र चलेन । एकातिर आफ्ले निर्माण गरेको चलचित्रले हावा खानु र अर्कोतिर करियर पनि ओरालो लाग्दै जानुले उनलाई कतिसम्म पिरल्यो भने, चटक्कै करियरलाई बिट मारेर नेपाल छाडिन् ।

लामो समयपछि उनी नेपाल फर्किइन् । त्यसपछि ‘फागु’ नामक चलचित्र बनाइन् । चलचित्रले उनलाई नरम्ररी लोप्पा ख्वायो । त्यसपछि राजनीतिमा होमिइन् । तर, उनको राजनीतिक अवतरण पनि सोचेजस्तो फलिफापयुक्त भएन ।

राजनीतिबाट मोडिएर दृढतासाथ पढाईमा लागेकी उनले यसतर्फ भने एक हदसम्म सफलता हासिल गरिन् । करिष्माकी एक छोरी कविता छिन् । उनले पनि चलचित्रमा अभिनय गरिसकेकी छिन् । माघ १ गतेदेखि प्रदर्शनमा आएको ‘एउटा यस्तो प्रेम कहानी’मा कविताले अभिनय गरेकी हुन् । तर, चलचित्र प्रदर्शनमा आएको–गएको दर्शकलाई पत्तो भएन् ।

छोरीको पहिलो चलचित्र असफल भएपछि करिष्माले आफ्नै लगानीमा छोरीलाई चलचित्र खेलाउने तयारी गरिरहेकी छिन् । जुन चलचित्रको नाम करिष्माले ‘बनबास’ राखेकी छिन् । हाल ४७ वर्षकी करिष्माको सुन्दरताको चर्चा चलचित्र बजारमा सधै हुने गर्दछ ।