ओली पक्षकी सांसद हुसेन दाहाल–नेपाल समूहमा फर्किइन्

विघटित प्रतिनिधि सभाकी सांसद समिना हुसेन नेकपाको माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूहमै फर्किएकी छन्।

संसद विघटनपछि केपी ओली पक्षमा खुल्दै आएकी हुसेनले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त समूह छाडेको सन्देश दिएका हुन्।

उनले विज्ञप्तिमा भनेकी छिन्, ‘केपी ओली गुटले विभिन्न भ्रम सिर्जना गरी म जस्ता कार्यकर्तालाई विभिन्न कार्यक्रममा सहभागी गराउने षड्यन्त्र गरिरहेका छन्। म नेपाल कम्युनिष्ट पार्टी नेकपाका सम्पूर्ण कार्यकर्ता, मुस्लिम समुदाय मधेसी समुदाय, महिला र विशेषगरी प्रदेश २ र रौतहटवासी सम्पूर्ण श्रमजीवी जनताहरुमा निर्धक्कसँग सबै खाले भ्रम चिर्दै केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक कदमका विरुद्धमा चालिएका आन्दोलनहरुमा सहभागी हुन र सत्ताको कुनैपनि प्रकारको प्रलोभनमा नफस्न हार्दिक अनुरोध गर्दछु।’

उनी नेकपाको समानुपातिक सूचीबाट सांसद भएका थिइन्।