सादा पोशाकका प्रहरी रामकुमारी झाँक्रीको घर पुगेपछि…

भाषणकै आधारमा नेतृ रामकुमारी झाँक्रीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

महानगरीय अपराध महाशाखाले बिहीबार उनलाई अनुसन्धानका लागि कार्यालय बोलाएको छ । उनी उपस्थित नभएपछि सादा पोशाकका प्रहरी उनको घरमा पठाइएको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारीको आलोचना गरेको भाषणलाई आधार बनाएर उनीमाथि प्रहरीले अनुसन्धान थालेको हो । केही दिनअघि प्रधानमन्त्री केपी ओली समुह निकट महिला नेतृहरूले झाँक्रीविरुद्ध गृह मन्त्रालयमा दिएको निवेदनलाई अनुसन्धानको आधार बनाइएको छ । गृह मन्त्रालयकै निर्देशनका आधारमा महाशाखाले नेतृमाथि अनुसन्धान गर्न लागेको हो ।

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले गृह मन्त्रालय हुँदै आएको निवेदनको विषयमा सोधुपुछका लागि झाँक्रिलाई बोलाएको बताए । दोस्रो जनआन्दोलनपछि यसरी भाषण गरेकै आधारमा नेतामाथि प्रहरीले अनुसन्धान गरेको यो पहिलो घटना हो ।