आचरणविरुद्ध बोलेको हो, बोलिहरन्छु, मलाई कुनै पश्चाताप छैन : रामकुमारी झाँक्री

नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । प्रहरीले उनलाई बिनासर्त छाडेको हो ।

रिहा भएपछि प्रतिक्रिया दिँदै झाँकीले आफूले राष्ट्रपतिको संस्थामाथि भन्दा पनि व्यक्तिको आचरणबारे बोलेकाले कुनै पश्चाताप नभएको प्रतिक्रिया दिइन् । “व्यक्तिको आचरणविरुद्ध बोलेको हो । बोलिहरन्छु । मलाई कुनै पश्चाताप छैन,” उनले भनिन् ।

अहिलेको लोकतन्त्रिक व्यवस्थाका लागि आफूहरू लडेको र आगामी दिनमा पनि लड्ने भन्दै झाँक्रीले भनिन्, ‘लोकतन्त्रको पक्षमा लडिरहेको मान्छे हो म । जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिको विरुद्ध आज पनि सडकमा छौं ।’

उनलाई बिहीबार शंखमूलस्थित निवासबाट राज्यविरुद्धको कसुरअन्तर्गत पक्राउ गरेको थियो । उनले गत माघ १७ गते गोरखाको विरोधसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि टिप्पणी गरेकी थिइन् । सोही कार्यक्रमको भिडियोलाई प्रमाण बनाएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो ।