जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस् : प्रवक्ता शर्मा

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको द्वन्द्वमा कांग्रेस नफस्ने बताएका छन् ।

प्रवक्ता शर्माले कांग्रेसलाई जनताले ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश दिएकोले कुनैपनि भड्कावबाट टाढा रहेको बताएका छन्।

पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले संसद्को दोस्रो ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेकाे कुरा सार्वजनिक भएपछि प्रवक्ता शर्माले यस्ताे प्रतिक्रिया दिएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘विलकुल निरपेक्ष छौँ । ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अत कुनैपनि भड्कावबाट टाढा छौँ, रहनेछौँ। नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौँ । अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउँदछौं । जय नेपाल !’

शनिबार बालुवाटारमा भएकाे गोप्य भेटमा प्रधानमन्त्री ओलीले देउवालाई साझेदारीको प्रस्ताव राखेका थिए ।