हजारौ शहीदकाे रगतले लेखेको संविधान नै धरापमा पर्ने खतरा भयो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौ शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संसय पैदा भएको बताएका छन् ।

जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा शनिबार बारबर्दिया नगरपालिकाले आयोजना गरेको ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूलो बलिदानीपछि प्राप्त उपलब्धि नै गुम्ने खतरा श्रृजना भएको बताएका हुन् ।

उनले भने ‘यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ । कहीँ कतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौ शहीदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको बेला पनि छ । यस्तो बेलामा तपाईहरुले यो जीवनगाथा प्रकाशित गरेर वैधानिक ढंगले अगाडि ल्याउनु भयो । यसको विशेष अर्थ र महत्व नेपालको इतिहासमा रहिरहने छ भन्ने म ठान्छु । र यसले हामीले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयहरुको रक्षाका निम्ति पनि यसले प्रेरणा दिनेछ ।’

जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाईते योद्धाहरुको जीवनगाथा सार्वजनिक गर्नका लागि जनयुद्ध सुरु गरेकै दिन रोजेकोमा उनले बारबर्दिया नगरपालिकालाई धन्यवाद पनि दिए । युद्धकालिन समयमा योगदान पुरयाएका व्यक्तित्वका बारेमा विभिन्न पुस्तकहरु प्रकाशित भएपनि सरकारका तर्फबाट बैधानिक ढंगले प्रकाशित भएको पहिलो ऐतिहासिक दस्तावेज भएको भन्दै जीवनगाथा प्रकाशित गर्नेमा देशभरीको पहिलो नगरपालिका भएकोमा पनि उनले धन्यवाद दिए । अध्यक्ष प्रचण्डले बारबर्दिया नगरपालिकाले गरेको यो कामले युद्धबाट पीडित देशभरका सबै परिवारले न्याय पाउने प्रेरणा हुने विश्वास आफुले लिएको बताए ।