आफ्नै आँखाअगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ : प्रचण्ड

नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्रमाथि खेलवाडसँगै सहिदका सपना कुल्चिने प्रयास गरिरहेको आरोप लगाए । केपी ओलीलगायतले लाखौं जनताको बलिदानीपछि प्राप्त संविधान कुल्चन सक्छु भनेर सोचेकोको भए त्यो भ्रमबाहेक अरु केही नहुने बताएका छन् ।

शनिबार जनयुद्ध दिवसका अवसरमा पेरिसडाँडा कोटेश्वरमा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रममा सम्बाेधन गर्दै उनी भावुक बनेका हुन् । जनयुद्धमा आफू पनि थोरैले बाँचेको बताउँदै अध्यक्ष प्रचण्डले सहिदका सपना कुल्चिने प्रयास भइरहेको दृश्य सहन नसक्ने बताए ।

‘आफ्नै आँखाअगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ । जरुरी पर्छ भने फेरि बलिदान दिन तयार छौँ,’ जनयुद्धकालीन पलहरु सम्झिँदै नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावुक बने ।

‘केपी ओलीहरुले हजारौँ सहिदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई म किच्न सक्छु भन्ने सोचेका छन् भने उनी सारै ठुलो भ्रममा छन् । उनी छिट्टै भ्रममुक्त हुँदा राम्रो हुन्छ भन्ने सुझाव राख्न चाहान्छु’, प्रचण्डले भने । साथै, प्रधामन्त्री ओलीले चालेको कदमविरुद्ध आफू मर्नबाट नडराउने उनले बताए । उनले भने, ‘सहिदहरुले बलिदान गरेर प्राप्त गरेका उपलब्धी हामी गुम्न दिने छैनौं । जरुरी पर्छ भने फेरि बलिदान दिन/हुन तयार छौँ ।’

सात दशक लामो हजारौं सहिदहरुको संघर्षबाट प्राप्त भएको गणतन्त्र उपलब्धी खतरामा पर्न लागेको भन्दै अब समै नेपालीहरु एकजुट भएर फेरि एकचोटी संघर्षको मैदानमा उत्रिनुपर्ने बेला आएको पनि उनले बताए ।