म प्रधानमन्त्री भएपछि नेपाल विश्वमाझ चिनिन थाल्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि नेपाल विश्वमाझ चिनिन र सुनिन थालेको बताए।

बुटवल नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले राष्ट्र, राष्ट्रियता र स्वाभिमानका सवालमा आफू कसै सामु कहिल्यै नझुक्ने बताए।

प्रधानमन्त्री ओलीले तीन वर्षको अवधिमा सरकारले असाधारण विकासका काम अगाडि सारेको उल्लेख गर्दै विकास देख्न नचाहने तत्व अत्तालिएको बताए। ओलीले देशको समृद्धिको यात्रा पूरा गर्न खोज्दा आफूलाई हटाउन खोजिएको बताएका छन्। प्रधानमन्त्री ओलीले आफूले देश र पार्टी बनाउन खोज्दा पार्टी छोडेर हिँडेको बताए।

‘देश बनाउने आफ्नो उदेश्यसँग नमिलेका, समृद्धिको सपना नदेख्ने र अरुले देखे पनि पूरा गर्न नदिने तत्वहरू सरकार र पार्टीबाट बाहिरिएर सडकमा डम्फु बजाइरहेका छन्,’ उनले भने।

ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालतर्फ लक्षित गर्दै भने , ‘एक हुल मान्छे जम्मा गरेर ‘मान्छे हेर्न यहाँ आऊ’ भन्नेहरूलाई बुटवलको जनसभा हेर्न म चुनौती दिन्छु।’