बहुमतको प्रधानमन्त्री भएको हिसाबले संसद विघटन गरेको हुँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा आफ्नो नेतृत्वको नेकपाको समूहको सभामा सम्बोधन गर्दै आफूले ५० लाख मत ल्याउने उद्घोष गरेका छन्।

उनले शनिबार बुटवलमा भने, ‘हामी ५० लाख मत ल्याउँछौँ। तपाईँहरु घटाउनुहोस् न, सक्नुहुन्छ भने!’ उनले प्रचण्डले टाउकोमा कात्रो बाँध्न सिकाएको तर त्यसलाई आफू सत्तामा पुग्ने भर्‍याङ मात्र बनाएको दाबी गरे।

प्रधानमन्त्री ओलीले अदालतले देशलाई अस्थीरतातर्फ नफर्काउने भन्दै अप्रत्यक्ष रुपमा आफ्नो पक्षमा फैसला गर्न दबाब पनि दिएका छन्। ‘बहुमतको प्रधानमन्त्री भएको हिसाबले संसद विघटन गरेको हुँ। वैध छ। संवैधानिक छ। संविधानसम्मत छैन भन्ने कुरा निरर्थक छ। देशलाई अस्थीरतातर्फ अदालतले फर्काउने छैन भन्ने मैले विश्वास लिएको छु,’ उनले भने।

उनले संसद पुनर्स्थापना भए कुनै पार्टीको बहुमत नरहने उल्लेख गर्दै अनुचित समीकरण सुरु हुने चेतावनी पनि दिएका छन्। ‘लोकतन्त्रको हुर्मत लिने काम हुन्छ। त्यसैले सोझै जनादेशमा जानुपर्छ,’ उनले भने।

आफूले सामाजिक सुधारका लागि धेरै काम गरेको उल्लेख गर्दै मृत्युदर कम गर्ने दिशामा आफ्नो सरकारले उल्लेख्य सफलता हासिल गरेको दाबी पनि ओलीले गरेका छन्। कृषिको आधुनिकीकरण, फोर जी, फलफूलखेती लगायत क्षेत्रमा आफू प्रधानमन्त्री हुँदा उल्लेख्य काम भएको दाबी प्रधानमन्त्री ओलीले गरे।

‘पानीजहाज कुरा गर्दै गण्डकी र कोशीमा स्टिमर चलाउन थालियो,’ उनले भने। उनले फागुन ३ गते तीन वर्षका कामहरुको समीक्षा गर्ने उल्लेख गर्दै भने, ‘हामी चुप लागेर बसेका छैनौँ। हाम्रो विरोधी यत्तिकै छटपटाएका होइनन्।’

उनले अहिले नै हामीलाई हटाइएन भने आफ्ना बाकस रित्तै हुन्छन् भनेर हामीबिरुद्ध विरोधीहरु जुम्जुमाएको दाबी पनि गरेका छन्।