चुनाव हुँदैन, प्रष्ट भए हुन्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन्।

भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने विचार व्यक्त गरे।

उनले भने, ‘चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।’ लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा रहेको बताए।

विभिन्न जिल्लामा विरोधसभा भइरहेका सन्दर्भमा चितवनमा यही फागुन १२ गते हुने सभामा उनले सम्बोधन गर्ने जनाइएको छ । पूर्वप्रधानमन्त्री दाहाल आज दिवङ्गत आफ्ना सम्धी भरतपुर महानगरपालिका वडा नं ७ निवासी नरबहादुर केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्न यहाँ आएको परिवारजनले जनाएको छ । रासस