नेपालमा बनेको मोटरसाइकल अप्रिलबाट विक्री सुरु हुने

नेपाली युवाहरुले नेपालमै डिजाइन गरेर तयार गरेको इलेक्ट्रीक मोटरसाइकल ४ महिनापछि विक्री सुरु हुने भएको छ ।

कम्पनीले यसअघि २०७६ पुस ३ गते काठमाडौंमा एक कार्यक्रम आयोजनागरि यसको ५० यूनिट निर्माण गर्ने घोषणा गरेको थियो । यात्री नामको ब्राण्डमा आउने ‘पी-०’ मोडल २०२१, अप्रिलमा ग्राहकलाई हस्तान्त्रण गर्ने तयारी भएको कम्पनीले जानकारी दिएको छ ।

यात्री मोटरसाइकल प्रोजेक्टका प्रमुख तथा डिजाइनर असिम पाण्डेका अनुसार कोभिडको कारण आफ्नो प्रोजेक्ट पछाडि धकेलिएको भएपनि काम नरोकिएको जानकारी दिए ।

‘हामीले काम अगाडि बढाउदै लगेका छौं । सुरुमा बुकिङ गरेका ग्राहकलाई ५० वटा मोटरसाइकल डेलिभरी दिने तयारी सहित प्रडक्सन मोडल तयार भएको छ । मोडल ‘पी-०’सँगै अन्य नयाँमोडलको घोषण गर्दैछौं’, पाण्डेले मेरोअटोसँग भने ।

कम्पनीले सन् २०२० को सुरुवात मै ‘पी-०’ मोडलको प्रोटोटाइप बाहिर ल्याएको थियो । कम्पनीका अनुसार अब ग्राहकले गर्ने बुकिङको आधारमा ‘पी-०’ मोडलको उत्पादन हुने छ । साथै यो भन्दा कम मूल्यमा अन्य मोडल सार्वजनिक गर्ने तयारीमा कम्पनी जुटेको छ ।