सिटीहल निर्माणको विरोधी नै आएर शिलान्यास गर्नु ठूलो कुरा हो : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा बन्न लागेको सिटीहल बन्न नदिनेको हातबाट शिलान्यास हुनु चितवनबासीको जितको रुपमा लिएको बताएका छन् ।

गएको माघ १७ गते चितवनको सभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले ओली नै सिटीहलको विपक्षमा रहेको आरोप लगाए । ‘सिटीहल निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक–पटक बहस भएको थियो । सुरुमा प्रधानमन्त्री निर्माण हुन नदिने पक्षमा हुनुहुन्थ्यो । मलाई खुसी पनि लागेको छ एक अर्थमा । विरोधी नै आएर शिलान्यास गर्नु भनेको त ठूलो कुरा हो नि,’ प्रचण्डले भने ।

भरतपुरमा सिटीहल बन्न नदिने पक्षमा रहेका प्रधानमन्त्रीले नै अहिले शिलान्यास गर्नु आफ्नोसँगै यहाँका जनप्रतिनिधि र जनताको जित भएको उनको भनाइ थियो । उनले निर्माणाधीन सिटीहललाई चितवनको मात्रै नभइ देशकै महत्वपूर्ण सिटीहलको रुपमा विकास गर्न चुनावअघि आफूले जनताको बीचमा जाँदा नै घोषणा गरेको बताए । चितवन देशको मध्यभाग रहेको जिल्ला भएको र देशभरका कार्यक्रम यहाँ गर्न अनुकूल देखिएकोले सिटीहल निर्माणको योजना बनाइएको उनले बताए ।

राजनीतिक स्थिति सामान्य रहने हो भने पाँच वर्षभित्र चितवनका सबै मूलसडकहरु कालोपत्रे हुने देखिएको उनले बताए । ‘मैले हिजो एक चक्कर लगाएँ । जे सपना देखिएको हो, त्यसअनुसार बाटोहरु बनेको र कतिपय बन्ने प्रक्रिया छन्,’ उनले भने, ‘राजनीतिक स्थिति सामान्य रहने हो भने पाँच वर्षभित्र मैले भनेअनुसार मेरो निर्वाचन क्षेत्रभित्र सबै मूलसडकहरु पिच बन्ने सुनिश्चित देखेँ ।’

यस्तै, उनले पुल्चोक–गोन्द्रांग ६ लेन सडकको काम राम्रोसँग अघि बढेको देख्दा आफू खुसी रहेको पनि बताए । उनले कृषिमा आधुनिकीकरण, उत्पादन बढाउने, वैज्ञानिक खेती प्रणालीलगायतका काम पनि छिट्टै अघि बढाइने उल्लेख गरे । आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउन अन्य दलहरुसंँग छलफल र समन्वय भइरहेको उनको भनाइ छ ।