भागरथी हत्या प्रकरण : एक जना प्रहरीको नियन्त्रणमा

बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई कञ्चनपुरबाट पक्राउ गरेको छ ।

सार्वजनिक पद धारण गरेका ती व्यक्तिलाई प्रहरीले भीमदत्त नगरपालिकाको एठपुरबाट पक्राउ गरी बैतडी लगेको प्रहरी स्रोतले जनाकारी दियो । स्रोतका अनुसार उनी भागरथीको हत्या भएको केही दिनपछि कञ्चनपुर झरेका थिए ।

अनुसन्धान गर्दै जाँदा उनको संलग्नता हुनसक्ने आधार देखिएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटना भएयता गाउँ छाड्नेहरूको सूची बनाएर निगरानी गरिरहेको थियो ।