बेलायती सेनामा पहिलो नेपाली महिला क्याप्टेन बनिन् अंशु गुरुङ

लण्डन – नेपालकी एक युवती बेलायती सेनाको उच्च तहमा पुगेकी छन् । नेपालको कास्की जिल्ला ‘पोखरा, लेखनाथ महानगरपालिका वडा नम्बर २२ भुम्दी निवासी डेन्टिस्ट अंशु गुरुङ बेलायती सेनामा पहिलो नेपाली महिला क्याप्टेन बन्न सफल भएकी छिन् । बेलायती सेनामा कुनै पनि नेपाली युवतीले हासिल गरेको सम्भवत: यो नै अहिलेसम्मको उच्च दर्जा हो । बेलायतको क्वीन्समेरी युनिभर्सिटीबाट अध्यन सकेर रोयल मिलिटरी एकाडेमी कलेज क्यामबर्लीमा लामो तालिम सम्पन्न गर्दै उनी पहिलो पटक व्रिटिश सैनिक क्याप्टेन बन्दै नयाँ उच्च पदमा पुग्न सफल भएकी छन ।

६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र सुकु गुरुङकी कान्छी छोरी अंशु दन्त चिकित्सक (डेन्टिस्ट) हुन् । गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट) को अध्ययन पूरा गरेपछि अंशु बेलायती सेना प्रवेश गरेकी थिइन् । उनकी आमा भुम्दिकोट समाज यूके आरातोमा समुहकी अध्यक्ष हुन् । उनीहरु स–परिरिवार बेलायतको फार्नबरोमा बस्दै आएका छन् ।

नेपालीहरु बेलायती सेनामा भर्ना हुन लागेको दुई सय वर्ष नाघिसकेको छ । गोर्खा रेजिमेन्टमा नेपालबाट युवतीहरुसमेत भर्ना गर्ने बेलायतको योजना रहेपनि अहिलेसम्म कार्यान्वयन हुन् सकेको छैन । तर, बेलायतमा बसोवास गर्दै आएका नेपाली किशोरीहरु भने फाट्टफुट्ट बेलायती सेनामा भर्ना हुँदै आएका भएपनि क्याप्टेन जस्तो उच्च पदमा पुग्ने कीर्तिमान भने सर्वप्रथम आँशुले कायम गरेकी छन्।

भूतपूर्व गोर्खा सत्याग्रह संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई भन्छन् ‘ यदि बेलायत सरकारले गोर्खा र तिनका सन्ततीहरुलाई ऐतिहासिक अत्याचार नगरेको भए अहिले क्याप्टेन मात्र हैन धेरै पहिला नै जनरल भैसक्ने थिए ।’ ढिला भएपनि गोर्खालीको नाम थप उच्च भएको राईले बताए । गोर्खाली र नेपालीकै नाम राख्न सफल भएकोमा राईले उनलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।