५,००० वर्ष पुरानो बीअर कारखाना

इजिप्टमा पुरातत्त्वविद्हरूले झन्डै ५,००० वर्ष पुरानो एउटा बीअर उत्पादन स्थल फेला पारेका छन्।

उनीहरूका अनुसार त्यहाँ भएको कारखाना ठूलो मात्रामा बीअर उत्पादन गर्ने संसारकै सबैभन्दा पुरानो कारखाना हुनसक्छ।

अमेरिका र इजिप्टका पुरातत्त्वविद्हरूको संयुक्त टोलीले मरुभूमिस्थित अबाइडस क्षेत्रमा सो कारखाना भेटेका हुन्। सो स्थानमा प्राचीन समाधिस्थल पनि छ। बीअर बनाउन अन्न र पानी मिसाउनका लागि प्रयोग भएका झन्डै ४० वटा भाँडासहित विभिन्न भागहरू पुरातत्त्वविद्हरूले भेटेका छन्।

उक्त कारखाना राजा नार्मरको शासनकालको हुनसक्ने अनुमान इजिप्टको पुरातात्त्विक निकायको छ। अबाइडसमा फेला परेको स्थानमा “ठूलो मात्रामा बीअर उत्पादन हुने संसारकै सबैभन्दा पुरानो कारखाना” भएको उसले जनाएको छ।

राजा नार्मरले ५,००० वर्षभन्दा अघि शासन गरेका थिए। उनको राजवंशले इजिप्टलाई एकीकरण गरेको विश्वास गरिन्छ।