ऐतिहासिक रानी महललाई ‘हनिमुन गन्तब्य’ बनाउन प्रस्ताव

नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो ।

तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । होटल एसोसियसन अफ नेपाल (हान) आफैं पनि यो प्रस्तावको पक्षमा छैन । पाल्पाको तानसेन नगरपालिकामा पर्ने रानीमहल कालीगण्डकी किनारमा अवस्थित ऐतिहासिक दरवार हो । यसको निर्माण विसं १९५४ सालमा भएको थियो। यो महल जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा यो दरवार बनाउन लगाएका थिए ।

सोहीकारण रानीमहललाई प्रेमको प्रतिक मानिन्छ । रानीमहलमा आकर्षक चार तले भवन रहेको छ । महलमा २४ वटा कोठा, २ वटा पोखरी, मन्दिर बगैँचा र पाटी, घोडातबेला सहिताका संरचनाहरू छन् । पर्यटन बोर्ड भने एतिहासिक संरचनालाई होटलमा परिणत गर्न अग्रसर छ ।

‘हामी पर्यटनमा विविधीकरण खोज्छौं,’ बोर्डका प्रमुख कायर्कारी अधिकृत सीईओ डा. धनन्जय रेग्मीले भने, ‘त्यसका लागि फरक खालका उत्पादनमा लाग्नुपर्छ, त्यसमध्ये एउटा उत्पादन हो रानीमहल ।’ रानीमहललाई ‘हनिमुन गन्तब्य’ बनाउन सकिने बोर्डको अवधारणा छ । ‘रानीमहल प्रेमसँग जोडिएको गन्तब्य हो, उनी भन्छन्, ‘हामी यसलाई नवजोडीसँग किन नजोड्ने ?’

रानीमहललाई हेरिटेज होटेलका रुपमा विकास गरी भारतमा प्रचार गर्ने हो भने खर्चालु पर्यटक भित्राउन सकिने बोर्डको अवधारणा छ । बोर्डले आफ्नो अवधारणासहितको प्रस्ताव स्थानीय सरकारदेखि व्यवसायीसम्म प्रस्तुत गरिसकेको छ ।