आफ्नै कमाईले काठमाडौंमा घर किन्दै पल शाह

नेपाली फिल्मका अहिलेका हटकेक अभिनेता पल शाह सोमवार आफ्नो ३१औं जन्मदिन मनाउँदैछन् । २०४६ साल फागुन १० गते दाङमा जन्मिएका उनले म्यूजिक भिडियाबाट नेपाली फिल्ममा फड्को मारेका हुन् । निर्देशक विकासराज आचार्यले फिल्म ‘नाईं नभन्नू ल ४’ बाट उनलाई लिड हिरोको रुपमा ब्रेक दिएका थिए । उनको पहिलो फिल्म नै बक्सअफिसमा हिट भएको थियो ।

अभिनयको आलोचना हुने गरेको भए पनि उनले आजसम्म करिअर फर्केर हेर्नुपरेको छैन । फिल्म ‘म यस्तो गाीत गाउँछु’ को सफलताले करिअरको उत्कर्षमा पुगेका उनले ‘जोनी जेन्टलम्यान, शत्रु गते, वीर विक्रम २’ मा नायकको रुपमा काम गरिसकेका छन् भने ‘म यस्तो गाीत गाउँछु २’ प्रदर्शनको तयारीमा छ । त्यस्तै, उनको पाइपलाइनमा ‘दुई नम्बरी, सत्यम् र हुतुतु’ छन् ।

म्यूजिक भिडियोमा काम गर्न थालेपछि पूर्ण विक्रम शाहबाट पल शाह भएका उनी दाङबाट काठमाडौं हिरो बन्न आएका थिएनन् । एसएलसी पास गरेर उनी आर्मी बन्न काठमाडौं छिरेका थिए । त्यसबेला उनी भर्खर १८ वर्षका थिए । काठमाडौं आएपछि उनले आफू र आफ्नो परिवारको आर्मी बन्ने सपना त्यागेर अर्कै बाटो हिँडे । जसकारण आज उनी सफल नायक र मोडल बनेका छन् ।

आमा-बुबाको न्यानो काख छाडेर जन्मथलो दाङबाट सपनाको शहर काठमाडौं आएपछि उनका कठोर संघर्षका दिनहरु सुरु भए । काठमाडौंमा टिक्न उनले दिउँसो कलेज जाने र साँझमा ट्याक्सी चलाउने योजना बनाए । ट्याक्सी चलाउन उनले तीन महिना ड्राइभिङ पनि सिके । तर, लाइसेन्सका लागि आवेदन दिन जाँदा १८ वर्ष पूरा नभएका कारण उनको फाराम नै दर्ता भएन ।

ड्राइभर बन्न नसकेर निराश भएका पललाई मामाका छोरा नितिन चन्द (जोनी जेन्टलम्यान निर्देशक) र नमित चन्द (मोडल) ले एडिटिङ सिक्न सल्लाह दिए । यो नै उनका लागि कला क्षेत्रमा प्रवेश गर्ने बाटो बनेको थियो । एडिटिङ सिकेपछि उनले एनटिभी प्लस र तराई टिभीमा एडिटिरको रुपमा काम गरे । उनले भारत पुगेर ‘टि–सिरिज’ मा ११ महिना एनिमेसन पनि सिकेका थिए ।

आर्थिक संकटका कारण तराई टिभी बन्द भएपछि ११ महिनाको तलब नपाउँदा कोठा भाडा तिर्न नसकेर घरबेटीले उनको कोठामा ताला नै लगाइदिएका थिए । उनीसँग खाजा खाने पैसा समेत हुन्न थियो । उधारो खाएको पसलबाट लुकेर हिँड्थे । आज उनै पलको भाग्य बदलिएको छ । कुनै समय कोठाभाडा तिर्न पैसा नहुने उनी अब काठमाडौंमा आफ्नै कमाईले घर किन्दैछन् ।