अदालतको फैसला जे आएपनि हामीलाई छटपटी हुँदैन, फरक पर्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित संसद पुन:स्थापना भए देशमा तमासा सुरु हुने बताएका छन्।

कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद पुन:स्थापना भयो भने प्रधानमन्त्री खोज्ने, समीकरणमा अनेक खेल हुने, सांसद किनबेच हुने बताए। ‘यदि विघटित संसद पुन:स्थापना भएमा देशमा तमासा सुरु हुनेछ,’ उनले भने,‘त्यसपछि प्रधानमन्त्री खोज्न, पार्टी खोज्न हिड्नुपर्छ, सासंद किनबेच, भागबण्डा, बिभिन्न समीकरणको खेल चल्ने छ।’ संसद पुन:स्थापनाका लागि अदालतमा परेको रिटबारे बाल्दै प्रधानमन्त्री ओलीले भने,‘अदालतले जस्तो फैसला गरेपनि हामीलाई कुनै छटपटी हुँदैन, हाम्रो ध्यान देश बनाउने अभियानमा भएकाले जे भए पनि फरक पर्दैन।’

देश निर्वाचनतर्फ गइसकेकाले अबको दुई/तीन दिनभित्र दालतले मुद्दा टुंग्याउने बताउँदैै प्रधानमन्त्री ओलीले भने,‘अबको दुई/तीन दिनमै अदालतमा चलिरहेको संसद विघटन सम्बन्धि मुद्दाको फैसला हुनेछ।’ आफूहरुले कसैलाई धम्की दिन आवश्यक नभएको बताउँदै उनले अदालतलाई धम्की दिने बानी आफूहरुको नभएको बताए। ‘हामी लोकतन्त्रमा विश्वास गर्ने हुँदा न्यायालयलाई धम्की दिदैनौ,’ उनले भने।

संसद विघटनको विषयमा अदालतको फैसला आउन लागेको बताउँदै उनले भने,‘फैसला जे आएपनि हामी देश बनाउने अभियानमा छौँ, नतिजा जे आए पनि हाम्रो राजनीति सकिँदैन ।’ आफूहरु पृथकीकरणको सिद्धान्त र स्वतन्त्र न्यायालयप्रति विश्वास गर्ने उनले बताए ।