केपी ओलीले आफूलाई महाराजा धिराजै भएजस्तो ठान्छन् : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बहुदलीय जनवाद (जबज) ड्रप गर्ने एमालेको पहिलो नेता केपी ओली भएको आरोप लगाएका छन् ।

शनिबार पार्टीसँग आबद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् । पार्टी एकताका क्रममा भएका सबै सम्झौता तोड्दै ओलीले जबजलाई ड्रप गरेको उनको आरोप छ ।

‘आजभोली केपी ओलीले जबज हामी, जबज हामी अर्को त माओवादी हो भनेर जो भ्रम दिन खोजेको छन् यो भन्दा ठूलो झुट, यो भन्दा ठूलो बेइमानी, यो भन्दा ठूलो अनैतिकता केही पनि हुँदैन’, प्रचण्डले भने, ‘जनताको बहुदलीय जनवादलाई ड्रप गर्ने पहिलो एमालेको कोही नेता छ भने त्यो खड्गप्रसाद ओली अर्थात् केपी ओली नै हो ।’

प्रचण्डले त्यसको प्रमाण भएकाले त्यसलाई आम जनतासम्म पुर्याउनसमेत आग्रह गरेका छन् । उनले राजनीतिक प्रतिवेदन, संयोजन समितिका दस्तावेज, केपी ओली र प्रचण्डका हस्ताक्षर नै त्यसको प्रमाण भएको दाबी गरे । उनले त्यसका लागि जेठ ३ गतेका प्रस्ताव हेर्न आग्रह गर्दै भने, ‘तपाईंहरुले यो चाहिँ सत्य हो भनेर आम जनतामा पुर्याउनुपर्छ ।’

जबजबारे मूल्यांकन गरिसकेपछि समाजवादउन्मुख जनताको जनवाद हो भन्ने निष्कर्षमा पुगेर एकता भएको र त्यसमा पहिला ओलीले हस्ताक्षर गरेको भन्दै प्रचण्डले अगाडि भने, ‘जबजबारे मूल्यांकन गरिसकेपछि अबको बाटो समाजवादउन्मुख जनताको जनवाद हो भनेर २१ औं शताब्दीको जनवादलाई पनि जनताको बहुदलीय जनवादलाई पनि त्यो बिन्दुबाट अब यो इतिहास भयो । अब भविष्यमा चाहिँ समाजवाद उन्मुख जनताको जवाद हो र त्यसभन्दा अगाडि जान त्यसलाई परिमार्जन गर्न गरेर समाजवादसम्म लाने हो भन्नेमा हस्ताक्षर पहिला गरेको केपी ओलीले गरेको हो ।’

प्रचण्डले अनुहार हेरेर नभई विचार मिलेर एकता भएको बताए । ‘एकता भएको अनुहार हेरेर होइन, विचार मिलेर हो’, प्रचण्डले भने, ‘विचार नमिलेको भए एकता हुने नै थिएन ।’

प्रचण्डले विश्व कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष चल्दा ओली अर्को वर्गमा पतन भएको आरोप लगाए । ओलीले आफूलाई महाराजा धिराजै ठानेकाले उनी आफ्नो वर्गमा नरहेको बताए ।

‘पार्टी भित्रैबाट वर्ग उत्थान भएका नेता विपरित वर्गको स्वार्थसँग आत्मसर्मपण गर्छन् र आफ्नो वर्गलाई धोका दिन्छन् । जन्मिएको धर्ती बिर्सिएर हिजो जसका विरुद्ध विद्रोह गरेका हुन् तिनै वर्गका प्रतिनिधिजस्तो ठान्छन्’, प्रचण्डले भने, ‘केपी ओली हाम्रो वर्गमा रहेनन् । केपी ओलीले आफूलाई महाराजा धिराजै भएजस्तो ठान्छन् ।’