मेरो अनुहार भारतसँग मिल्यो भन्दैमा राष्ट्रघात गर्यो भन्न मिल्छ ? : राजेन्द्र महतो

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस र कम्युनिस्टले राष्ट्रघात गरेको आरोप लगाएका छन् ।

मंगलबार महेन्द्रनगरमा संचारकर्मीसँगको भेटमा नेता महतोले कांगे्रस र कम्युनिस्ट मिलेर महाकाली बेचेको आरोप लगाए । उनले कांग्रेस सरकारमा रहेका बेला महाकाली सन्धि गरेको उल्लेख गर्दै उतिबेलाको प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टी विभाजन गरेर पनि महाकाली सन्धिको सर्मथन गरेर राष्ट्रघात गरेकोे बताए ।

नेता महतोले भने, ‘७० वर्ष शासन गरेका कांग्रेस कम्युनिस्टले राष्ट्रघात गरेको होइन ?’ , उनले प्रश्न गरे । ‘राजेन्द्र महतोको अनुहार भारतसँग मिल्यो भन्दैमा राष्ट्रघात गर्यो भन्न मिल्छ ?’

महतोले धोती र टोपीमा राष्ट्रवाद खोजिएको भन्दै आपत्ति जनाए । ‘राष्ट्रवाल अनुहारमा खोज्ने हो ? धोती र टोपीमा राष्ट्रवाद खोज्ने हो ?’, नेता महतोले भने, ‘राष्ट्रवाद भनेको आफ्नो मुलुकप्रति माया गर्ने समृद्ध गर्ने हो यहाँ त उल्टोउल्टो काम भइरहेको छ ।’

उनले राष्ट्रवादको परिभाषासमेत गलत ढंगले भइरहेको बताए । भारतलाई गाली गर्दैमा महान राष्ट्रवादी नभइने बताउँदै उनले असली राष्ट्रघातीको पहिचान नगरेसम्म देशको नोक्सानी हुने बताए । उनले संसदमा बोलेको कुरा स्मरण गर्दै राष्ट्रघातीलाई टुँडीखेलमा झुन्ड्याउनुपर्ने बताए । ‘मिडियाले पनि ढाकछोप गर्छ राष्ट्रघाती को भनेर लेख्दैन’, उनले भने, ‘महाकाली सन्धि गर्ने राष्ट्रघाती लेख्नुपर्दैन ? सन्धि अनुमोदन गर्ने यो हो राष्ट्रघाती भनेर लेख्नुपर्दैन ?’

महतोले आफूहरुका मुद्दा सम्बोधन नभएसम्म सत्तामा नजानेसमेत प्रष्ट पारेका छन् ।