आलोचना गर्नेले गर्छन्, दुर्गा प्रसाईंले मार्सीलाई ब्राण्ड बनाइदिनुभयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले आलोचनालाई ‘ब्राण्ड’ बनाउने क्षमता दुर्गा प्रसाईंसँग रहेको बताएका छन्।

मेडिकल व्यवसायी प्रसाईंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रसाईं हिम्मत भएको मान्छे भएको बताए। ‘भन्नेहरूले भन्दै गर्छन्, आलोचना गर्नेले गर्छन्, उहाँलाई मार्सी चामल भनेर आलोचना गरे, उहाँले त मार्सीलाई ब्राण्ड बनाइदिनुभयो,’ ओलीले भने।

प्रसाईंले मार्सी बियर बजारमा ल्याउँदैछन्। नेकपा एकीकरणताका ओली र प्रचण्डलाई घरैमा मार्सी चामलको भात खुवाएको र पछि चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसेका डाक्टर गोविन्द केसीको विरोध कारण उनको आलोचना भएको थियो।

भाषणका क्रममा ‘अरू के के रे’ भन्दै ओलीले सोधे। पछाडिबाट अरूले भनिदिए – माफिया ह्वीस्की। डन इनर्जी ड्रिङ्स। प्रसाईंले माफिया ह्वीस्की र डन इनर्जी ड्रिङ्स पनि बजारमा ल्याउने घोषणा गरेका छन्।

‘जे-जे गाली गरेका छन् मान्छेले, हिम्मत भएको मान्छे हो दुर्गा प्रसाईं, आलोचना र टिप्पणीबाट हच्किएर दच्किएर पछाडि हट्ने मान्छे हैन, अगाडि बढ्ने मान्छे हो दुर्गा प्रसाईं।’ आलोचना गर्नेहरूलाई उनले ‘खुट्टा तान्ने’ प्रवृत्ति भन्दै कुन्ती मोक्तानको गीत सम्झिए।

‘कुन्ती मोक्तानको गीत छ नि खुट्टा तान्दै गर,’ उनले भने, ‘तान्नेले तान्दै गर्छन्, देश बनाउने कार्यमा हामीले खुट्टा कमाउनु हुन्न, लक्ष्यमा अगाडि बढ्नुपर्छ।’