मलाई अनुशासनको कारबाही गर्ने कुरा हाँस्यास्पद : नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले दिनमा १५ पटक अनुशासन उल्लंघन गर्नेहरुले नै आफूलाई अनुशासन उल्लंघनको कारबाही गर्ने कुरा हाँस्यास्पद रहेको बताएका छन्।

उनले पार्टीको गतिविधिबारे सार्वजनिक रुपमा कुनै टिप्पणी नगर्ने आफू जस्तो व्यक्तिलाई अनुशासनको कारबाही भनेर गरिएको निर्णय आपत्तिजनक रहेको पनि बताए।

नेपाल कम्युनिष्ट पार्टी दाहाल र नेपाल समूहको केन्द्रीय कमिटी बैठकले नेम्वाङसहित ८ नेतालाई अनुशासन उल्लंघन गरेको आरोपमा छ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको थियो।

यो निर्णय हाँस्यास्पद रहेको नेम्वाङले बताएका हुन्। उनले देश सञ्चारसँग भने, ‘दिनमा १५ पटक अनुशासन उल्लंघन गर्नेहरुले नै उल्टै मलाई अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गर्ने कुरा हाँस्यास्पद छ।’

नेम्वाङले दाहाल–नेपाल समूहको उक्त बैठक नै आधिकारिक नरहेको बताए। ‘त्यो बैठक नै हैन, बैठक डाक्ने अधिकार अध्यक्ष ओलीलाई छ उहाँले बैठक बोलाउनु भएको छैन।’

उनले प्रचण्ड–माधव समूहले कारबाही गरेको विषयबारे आफूले औपचारिक जानकारी नपाएको बताए। ‘सञ्चार माध्यममा सुनेको मात्रै हो, मलाई आधिकारिक जानकारी छैन’, नेम्वाङले भने, ‘त्यो पार्टीको बैठक पनि हैन।’

दाहाल नेपाल समूहले नेम्वाङलाई संसदीय दलको उपनेताबाट राजीनामा दिनका लागि दिएको तीन दिनको समय आज सकिँदै छ।