म नेकपाको हिरा हुँ, अन्नपूर्ण हिमाल हुँ : कोमल वली

‘म चाकरी गरेर होइन, केपी ओलीमा मात्र एउटा त्यस्तो क्षमता छ जसले हिरा चिन्छ । म नेकपाको हिरा हुँ । हिरालाई परख्नसक्ने क्षमता केपी ओलीमा छ । भलै म उहाँकी चेली हुँ । केपी ओलीमा हिरा परख्नसक्ने एउटा क्षमता थियो । त्यो क्षमताले मलाई अवसर दिनुभयो । मैले पाएँ । म यो पार्टीको हिमाल हुँ,’ यो भनाई राष्ट्रिय सभा सांसद कोमल वलीको हो ।

नेकपा (बहुमत) का नेता रघुजी पन्तले पार्टीको एउटा आन्तरिक कार्यक्रममा व्यक्त गर्नुभएको धारणालाई लिएर राष्ट्रिय सभाकी सांसद कोमल वलीले कानुनी उपचारको कुरो उठाउँदै उक्त धारणा राखेकी हुन् । पूर्व खेलाडी तथा गायिका एवम् सांसद वलीले पत्रकार ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर समर्थन गरेकी छन् । अन्तर्वार्तामा आफू नेकपाको हिरा भएको र प्रधानमन्त्री ओलीले मात्र त्यो हिरालाई चिन्नुभएको रहस्य खोलेकी हुन् ।

लामो अन्तर्वार्ताको क्रममा वलीले नेपालको वामपन्थी आन्दोलन र नेकपामा आफूले गरेको योगदानको फेहरिस्त प्रस्तुत गर्दै भनेकि छन् ‘के यो पार्टी जेल बसेको महिलाको लागि मात्र हो त ? हाम्रो संघर्षचाँहि केही संघर्ष होइन ? मैले पनि देशको लागि गर्या छु । पार्टीमा काम गरेको आज ४ वर्ष भयो ।’

नेकपामा तपाईंले के योगदान गर्नुभयो ? भनेर धमलाले सोधेको प्रश्नमा वलीले ‘देशको लागि गरेको छु नि ! गीत गाउनु र संगीतप्रतिको मेरो योगदान होइन ? कति सांसदहरुको योगदान छ नि,सबैको हेरौं न त ! पार्टीको लागि मात्र गर्नुपर्छ भन्ने छैन । गत ४ वर्षदेखि मैले नेकपाको हरेक क्षेत्रमा सेवा पुर्याउँदै आएको छु । टेवा पुर्याउँदै आएको छु । मेरो अमूल्य योगदान छ । राष्ट्रिय सभामा आउनुअघि मैले संगठन निर्माणको लागि काम गरेको छु,’ भनेकी छन् ।

आफ्नो प्रशंसा आफैँ गर्दै उनी भन्छिन् ‘नेकपाको लागि म पहाड हुँ, हिमाल हुँ, अन्नपूर्ण हिमाल हुँ । मेरो उचाई देखेर नेकपामा अध्यक्ष केपी ओलीले मलाई आमन्त्रण गर्नुभएको । त्यसैले यो पार्टी ज्वाइन गरेको ।’

शनिबार एउटा कार्यक्रममा नेता रघुजी पन्तले बोल्नुभएको भाषाको नक्कल गर्दै कोमलले अन्तर्वार्ताकै क्रममा साडी माथि उचालेको भावमा भनेकी छन् ‘साडी उचालेर गोरा पिँडुला देखाउनासाथ र पोइल जान पाम भन्ने गीत गाउँदैमा केपीले राष्ट्रिय सभाको सांसद बनाउनुभएको हो ! ’