आलोचनापछि वनमन्त्रीले लिखित भाषण पढ्न थाले

आफ्नो अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना हुन थालेपछि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले औपचारिक कार्यक्रममा लिखित भाषण गर्न थालेका छन् ।

फागुन १८ गते सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) को आठौं परिषद्को उद्घाटन कार्यक्रममा आलेले ‘जुन रुखबाट हामी कार्बनडाइअक्साइड पाउँछौँ, जुन रुखलाई हामी अक्सिजन दिन्छौँ । त्यही रुख यदि रहेन भने के हुन्छ हालत ?’ भन्ने अभिव्यक्ति दिएका थिए । मन्त्री आलेको यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

आलेले त्यही कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न काठ व्यवसायीले एक अर्ब रुपैयाँ घुस अफर गरेकोसमेत दाबी गरेका थिए । उनको यो अभिव्यक्तिको पनि सर्वत्र आलोचना भएको थियो ।

आइतबार वन पैदावार उद्योग व्यवसायी महासंघ (फेनफिटको १० औं महाधिवेशन तथा २१औँ साधारण सभामा प्रमुख अतिथि रहेका मन्त्री आलेले लिखित भाषण गरे ।