ओलीलाई निष्कासित गर्ने अपराधीहरूको मुहार झलझली सम्झना आइरहेको छ : सूर्य थापा

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड-माधव समूहबाट ओली नेतृत्वको एमालेमा आउनेहरुलाई अपराधीको संज्ञा दिएका छन्।

प्रचण्ड-माधव समूहबाट ओली अध्यक्ष रहेको एमालेमा नै फर्किने निर्णय गरेका माधवकुमार नेपाल‚ झलनाथ खनालहरुलाई लक्षित गर्दै थापाले अपराधी भनी आरोप लगाएका छन्। उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई पार्टीको सदस्यबाट समेत निष्कासित गर्नेहरु अपराधी भएको दाबी गरेका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्‚ ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निष्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ।’

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता बदर गरी एकता पूर्वको नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि नेताहरु आफ्नो पुरानो पार्टीमा नै फर्किएका छन्। प्रधानमन्त्री ओलीलाई छाडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर लागेका माधवकुमार नेपाल‚ झलनाथ खनाललगायत नेताहरु एमालेतिर नै फर्किएका छन्। आइतबार प्रचण्ड-माधव समूहको अन्तिम बैठक बसी छुट्टिने निर्णय गरेका छन्।