मेरो नाम हटाएर लेखराज भट्टको नेमप्लेट राख्ने मर्यादाहीन कुरा : भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता भीम रावलले सुदूरपश्चिम प्रदेश कार्यालयमा आफ्नो नामको बोर्ड तोडफोड गरिएकोप्रति आपत्ति जनाएका छन् ।

बुधबार एक कार्यक्रममा बोल्दै उनले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष मानेर गुन्डागर्दी शैलीमा कार्यालय तोडफोड गरेको आरोप लगाए । “आफूलाई यो प्रदेशको स्वघोषित अध्यक्ष भनेर लेखराज भट्टलाई प्रदेश इन्चार्ज भनेर पाँचवटा कुर्सी भाँचिएको छ । रोक्न खोज्दा हाम्रा केही साथीहरुलाई आक्रमण गरी घाइते बनाइएको छ,” उनले भने ।

उनीहरुलाई कारबाही नगरिए माथिल्ला तहबाट परिचालित गुन्डा भनेर बुझ्नुपर्ने रावलले बताए । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको इन्चार्जबाट रावलको नाम हटाएर बुधबार लेखराज भट्टको नाम राखिएको छ।

“मेरो नाम हटाएर लेखराज भट्टको नेमप्लेट राख्ने योभन्दा मर्यादाहीन कुरा के हुन्छ ?,” उनले भने । गृह प्रशासनलाई आफूले जानकारी दिँदा पनि केही नगरिएको उनको भनाइ छ । उक्त घटनाबारे आफूले पार्टीका महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जानकारी दिएको बताए ।