ठग्ने बाहेक केहि काम गरेको छ केपी ओलीले? : राजेन्द्र महतो

जसपा नेता राजेन्द्र महतोले आफ्नो मागहरु जसले पुरा गर्छ, उसैलाई समर्थन गर्नेसमेत बताए।

बुधबार माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई पार्टीबीच भएको पछिल्लो राजनीतिक अवस्थाबारेको छलफलपछि बाहिरिएका महतोले आफ्नो मागहरु जसले पुरा गर्छ, उसैलाई समर्थन गर्ने बताका हुन्।

‘केपी ओलीको सरकारलाई पहिल्यै समर्थन गरेर हेरिसक्या होइन? फेरि गर्ने? त्यसैको लागि जन्मिया हामी? यी शासक, सम्भ्रान्तहरुलाई सित्तैमा समर्थन गर्न जन्म्या हो हामी? मागहरु पुरा गरे हुन्छ नत्र हुँदैन। हामीले भन्दै आएका मागहरु जसले पुरा गर्छ त्यसप्रति सहानुभूति हुन्छ हाम्रो’, उनले भने, ‘रेशम चौधरी लगायतका मुद्दा फिर्ता, मधेश/थरूहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सवालहरु आजको होइन नि, यो त पटक पटक राखेकै हो नि केपी ओलीलाई नि राखेको, समर्थन पनि गरेको हो नि त। ठग्ने बाहेक केहि काम गरेको छ केपी ओलीले? काम गरेर देखाउनुपर्‍यो हामी साथ दिन्छौं।’

उनले सत्ता समिकरणको सम्बन्धमा जसपा कुनै पक्षसँग नभएको स्पष्ट पारे। आफ्नो मुद्दाहरु सम्बोधन भए सरकार बारे सोच्ने उनको भनाई छ।