‘केपी ओली मान्छे त महाठग रहेछन्’ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाठगको संज्ञा दिएका छन् । सिन्धुलीमा पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा उनले यो ३ वर्ष ओलीलाई आफूले राम्रोसँग चिनेको बताउँदै ओलीले २००७ सालदेखिको संघर्षका उपलब्धिमाथि षडयन्त्र गरेको बताए ।

उनले एकताको प्रस्तावक आफु नै रहेको बताउँदै त्यसको मर्म सही रहेपनि प्रधानमन्त्री ओलीकै कारण यो अवस्था आएको बताए । उनले भने–‘पार्टी एकता गर्ने बेला गरेको सहमती हस्ताक्षर सबै राम्रा छन् । अहिले त्यसलाई पल्टाएर हे¥यो भने पनि गल्ति गरेको केही पनि देखिँदैन । समाजवाद उन्मुख जनवाद पार्टी कार्यदिशा, मार्क्सवाद लेनिनवाद पार्टीको राजनीतिक प्रतिवेदन, विधान, जनवादी केन्द्रीयता, एउटै कम्युनिष्ट पार्टी बनाएर जाने, विकास निर्माण गर्ने, समाजवादको आधार तयार पर्ने, सामाजिक न्यायका कुराहरु नै छन् सबै ।

महाधिवेशनसम्म आलोपालो अध्यक्षता गर्ने, प्रधानमन्त्री पनि आलोपालो गर्ने भन्नेमा हस्ताक्षर छ । त्यहाँ गल्ती भएको त हैन । यहाँसम्म आइपुगेर के थाहा भयो भने केपी ओली मान्छेचाहिं महाठग रैछन् । राजनीतिमा मान्छेले अलिअलि जालझेल त गर्छन् तर यस्तो ठग त हुँदैनन् । हस्ताक्षर धेरै गरे तर एउटा पालना गरेनन् । पार्टी एकता हामीले नै गराइयो फेरी फुट्ला कि भने हामी नै थरथर काँपियो । पार्टी फुट्ला भनेर उदारतातिर लागियो, फकाएर हुन्छ कि भनेर केही समय फकाउन पनि लागियो । मलाई प्रधानमन्त्री चाहिएन पाँचै वर्ष तिमी नै खाउ पनि भनियो । तर उनले चाही कुनै कुरा पालना गर्ने कुरा भएन् । बरु उल्टै विदेशी प्रतिक्रियावादीसँग मिलेर संविधान नै खाने, संघीयता नै खान खोजे ।’

ओलीसँगको ३ वर्षको संगतमा आफूले बुझेको–केपीको एउटै रणनीति माओवादीले स्थापित गरेका संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिकतालाई सिध्याउने रहेको बताए । उनले भने– ‘त्यसका लागि माओवादी स्थापित गरेका मूल्य मान्यता र अझ प्रचण्डलाई नै सिध्याउने खेलमा लागे । तपाईहरुले यसो हेर्नुभयो भने, गहिरो गरी बुझ्नुभयो भने, उसको दाउ मलाई सिध्याउने बाहेक केही पनि देखिएन । त्यो हो भने अब लड्नैपर्छ भने अब जमेर लड्नुपर्छ भनेर १९ पेज लामो दस्तावेजको बम हानेको हो । साँच्चैको बम हैन है फेरि । त्यसपछि महामारी सुरु भयो । त्यो महामारी अहिलेसम्म चलिरहेको छ ।’

उनले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि काठमाडौंमा बसेर पहिलेदेखि शासन सत्ता चलाएर बसेकाहरुलाई मन नपरेको बताउँदै ठूलो आँधी हुरी आएपछि सबैले मान्न बाध्य भएको बताए ।