गृहमन्त्री थापाको सांसद र मन्त्री पद गुम्यो

गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन गरिसक्नुपर्ने हुन्छ ।

नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो। थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए। अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले रोजेका थिए।

राष्ट्रियसभा सदस्यको पद रिक्त भएमा ३५ दिनभित्रै उपचुनावमार्फत पदपूर्ति गर्नुपर्ने कानूनी व्यवस्था छ । प्रतिनिधिभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदहरु जहिल्यै पूर्ति गरे पनि हुन्छ । तर, राष्ट्रियसभा सदस्यको हकमा भने ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने कानूनी बाध्यता छ ।

राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ६१ मा भनिएको छ, ‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको पैतीस दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ ।’