नेपाल–भारत नाकामा कडाइ गर्ने तयारी

कञ्चनपुरको नेपाल–भारत सीमा नाकामा भइरहेको निर्बाध आवागमनलाई स्थानीय प्रशासनले कडाइ गर्ने तयारी गरेको छ । भारतमा कोरोनाको संक्रमण तीव्र गतिमा भइरहेकाले नाकामा हुने आवागमनमा कडाइ गर्ने तयारी भएको हो ।

आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले अत्यावश्यक कामबाहेक भारततर्फ जान रोक लगाउने निर्णय गरेको छ । दैनिक रूपमा सीमावर्ती बजारसम्म किनमेलका लागि जानेलाई अब रोक लगाइने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । ‘सानोतिनो किनमेलका लागि दैनिक रूपमा सीमावर्ती बजार जान रोक लगाइनेछ,’ उनले भने, ‘अत्यावश्यक काम परेकालाई अवस्था हेरेर जान दिइनेछ ।’

सीमावर्ती बजारहरूमा समेत कोरोना संक्रमण तीव्र गतिमा बढेको छ । यस्तो अवस्थामा समेत सामान्य किनमेलका लागि नाकामा निर्बाध आवागमन भइरहेको छ । यसरी दिनहुँ किनमेलमा जानेहरूमा समेत संक्रमण देखिएको छ । शनिबार र शुक्रबार दुई दिन केही व्यक्तिको मात्रै एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको छ । भारतबाट फर्किने नेपालीलाई भने आउन दिइनेछ । उनीहरूको व्यवस्थापनका लागि गड्डाचौकी नाकामा १ हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गरिनेछ । सुदूरपश्चिम प्रदेश सरकार र भीमदत्त नगरपालिकाले निर्माण गर्ने होल्डिङ सेन्टरका लागि तत्काल जमिन खोजी गर्ने काम सुरु भएको महतोले बताए ।