सस्तो मूल्यको मोटरसाइकल ल्याउने तयारीमा यात्री मोटरसाइकल कम्पनी

यात्री मोटरसाइकल कम्पनीले गत शुक्रबार आफ्नो दुई मोडलको मूल्य सार्वजनिक गरेको थियो । मूल्य सार्वजनिकसँगै धेरैले यसको मूल्य बढी रहेको भन्दै शोसल मिडियामा प्रतिक्रिया दिएको थिए ।

कम्पनीले तयार गरेको लिमिटेड मोडल पी-० को मूल्य १९ लाख ५० हजार र एड्भेन्चर मोडल पी-१ को मूल्य ४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरेरसँगै विभिन्न किसिमका प्रतिक्रिया आइरहेका छन् ।

यस्तोमा यात्रीले पी-१ भन्दा कम मूल्यको सहरी क्षेत्रको लागि उत्कृष्ट हुने नयाँ मोटरसाइकलको तयारी गरिरहेको बुझिएको छ । ‘हामीले धेरै रेञ्ज प्रदान गर्ने मोटरसाइकलमा काम गरिरहेका छौं । अहिले ल्याएको नयाँ मोडल पी-१ को तुलनामा कम मूल्यको इलेक्ट्रीक मोटरसाइकल बजारमा ल्याउनेगरि काम गरिरहेका छौं । त्यसको लागि भने केहि समय कुर्नु पर्छ’, कम्पनीका सीइओ वत्सल पाण्डेले मेरोअटोसँग भने ।

पाण्डेका अनुसार अहिले बजारमा आएको पी-१ मोटरसाइकल २०० सीसीदेखि २५० सीसी क्षमता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेगरि आएको छ । स्वाभावत विद्युतीय टेक्नोलोजी आइसी इन्जिनभन्दा महंगो हुने कारण मूल्य केहि बढी जस्तो लागेको हो ।

यात्रीले नेपालमा नै डिजाइन र उत्पादन गरेको पी-० र पी-१ पछि कम्पनीले पी-२ मोडल ल्याउने अनुमान गरिएको छ । यसको मूल्य ३ लाख रुपैयाँभन्दा कम हुने अनुमान गरिएको छ ।

नयाँ मोडलमा रहने पावर, व्याट्री, डिजाइन, रेञ्ज, टप स्पीड लगायतका कुनैपनि विषयमा कम्पनीले जानकारी दिएको छैन ।