भारतमा गतिमा फैलिदै कोरोना, चौबीस घण्टामा तीन लाख ५२ हजार सङ्क्रमित

भारतमा गत चौबीस घण्टामा तीन लाख ५२ हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितको पहिचान गरिएको छ ।

भारतमा एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौ दिन हो । भारतमा एक साताभित्र मात्रै कोरोना सङ्क्रमितको संख्या करिब २५ लाख पुगेको छ।

भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोभिड सङ्क्रमणबाट मात्र एक लाख ९५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

भारतमा हालसम्म एक करोड ७० लाखभन्दा बढी व्यक्ति कोभिडबाट सङ्क्रमित हुन पुगेका छन्। भारतमा २८ लाख १३ हजार भन्दा बढी ब्यक्तिमा भाइरसको सङ्क्रमण सक्रिय छ । भारतमा हालसम्म १ करोड ४३ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा मात्र दुई लाख १९ हजार २२७ जना कोरोना मुक्त भएका छन् ।

कोरोना महामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपि संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए ।

भारतमा हालसम्म १४ करोड १९ लाख ११ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् । भारतमा सोमबार मात्रै १४ लाख २ हजार ३६७ जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २५ सम्म कूल २७ करोड ९३ लाख २१ हजारभन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।