ओलीको यो अर्को फण्डा हो : रामकुमारी झाँक्री

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षकी नेतृ रामकुमार झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा आइतबार जारी एकतर्फी वक्तव्यले पार्टी एकतामा कुनै काम नगर्ने बताएकी छन्।

आइतबार ओलीको विज्ञप्तिपछि प्रतिक्रिया दिँदै नेतृ झाक्रीले ओलीको विज्ञप्तिलाई एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन भन्दै झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि मात्र भएको दाबी गरेकी छन्।

‘यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बीचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपालसहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन, झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ’, उनले भनेकी छन्।

आज प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले एक विज्ञप्ति जारी गर्दै एमाले एकताका लागि पार्टीलाई पूर्ववत् अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका थिए। ओलीको उक्त वक्तव्य आफूहरुलाई अलमल्याउने र झुक्याउन गरिएको उनले बताइन्।

‘भर्खरै मिडियामा अध्यक्ष क. खड्ग प्रसाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उद्धेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ’, उनले भनेकी छन्।

ओलीले विज्ञप्तिका ४ नम्बर बुँदामा काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको हस्ताक्षर फिर्ता दिन सर्त अगाडि सारेका थिए।

‘अझ गम्भीर कुरा त के छ भने बुँदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिने? फिर्ता लिने पक्षसंग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र?’, उनले भनिन्, ‘लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन।’

एनले ओलीको वक्तब्यलाई एकता हुन नदिने ग्रान्ड डिजाइनका साथ आएको दाबी गरेकी छन्। ‘यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु। बिकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइनेछ’, उनले भनिन्।