निषेधाज्ञाकाबीच बेनी-जोमसोम सडक धमाधम कालोपत्रे हुँदै

उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी/जोमसोम ७६ किमी सडकखण्डमा कोरोना माहामारीकाबीचमा धमाधम कालोपत्रे बिच्छ्याउने काम भइराखेको छ।

तिब्बतसँग सीमाना जोडिएको बहुचर्चित उत्तरी कोरोनाना हुँदै दीर्घकालीन व्यापारिक तथा पारवाहन मार्ग विस्तार गर्ने लक्ष्य अनुरुप सरकारले झन्डै ६ अर्ब लागतमा २०७४ सालदेखि १ सय ८६ किमी सडकको कामलाई अगाडि बढाएको छ।

राष्ट्रिय गौरवको बेनी/जोमसोम/कोरला सडकको सम्पूर्ण भौतिक प्रगति ७५ प्रतिशत र वित्तीय प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ।

आयोजनाको बेनी/जोमसोम सडकखण्डको ४ प्याकेजमध्ये ३ खण्डमा कालोपत्रेको काम भइरहेको करिडोर सडकका सूचना अधिकारी इन्जिनियर अश्विनीकुमार यादवले जानकारी दिए।

उनका अनुसार करिडोरले कोरोना माहामारीको विषम अवस्थामा समेत स्थानीयबासी, जनप्रतिनिधि, स्थानीय प्रशासन लगायतको सहयोग र समन्वयमा हिमाली जिल्ला मुस्ताङ र म्याग्दी खण्डमा राष्ट्रिय गौरवको बेनी/जोमसोम/कोरला सडकमा द्रुत गतिमा काम भइरहेको छ।

समुन्द्री सतहको २५ सय मिटर अग्लो स्थानको हाइअल्टिच्यड मुस्ताङखण्डको दुई प्याकेजमा कालोपत्रे गर्न सुरु गरिएको यादवको भनाइ छ।

कालिगण्डकी करिडोर अन्तर्गत कोरलानाका जोड्ने बेनी/जोमसोम ७६ किमी सडक ४ प्याकेज र जोमसोम/कोरला १ सय १० किमी सडकमा ७ प्याकेजमा सडक स्तरोन्नति भइरहेकोमा जोमसोम कोरला सडकको ३ वटा प्याकेजको काम सम्पन्न भएपछि हस्तान्तरण भइसकेको छ।

बेनी/जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दी खण्डको प्याकेज १ को गलेश्वर/तातोपानी १९ किमी सडकमा शर्मा युनाइटेडले डीबीएसडी प्रविधिको कालोपत्रे सुरु गरेको छ भने बेनी/जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङखण्डको तेश्रो प्याकेज घासादेखि कोवाङसम्म १६ दशमलव ५ किमी सडक र कोवाङदेखि जोमसोमसम्मको १८ किमी सडकमा शर्मा गजुरमुखी जेभी र पप्पुगौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले अलग/अलग अस्पाल्ट कालोपत्रे सुरु गरेका हुन्।

राष्ट्रिय गौरवको बेनी/जोमसोम सडकको प्याकेजमा गत वर्षनै कालोपत्रे गर्ने लक्ष्य लिएको पनि कोरोना कहरका कारण प्रभावित बनेको शर्मा गजुरमुखी जेभीले जनाएको छ। कोरोना कहरले रोकिएको उक्त काम कोरोनाको दोश्रो लहरमा आइपुग्दा यसपटक भने स्थानीबासी, स्थानीय तह, जनप्रतिनिधि र स्थानीय प्रशासनको सहयोगमा कोभिड/१९ को स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम अघि बढेको बताएको शर्मा गजुरमुखी जेभीका प्रोजेक्ट मेनेजर नरेन्द्र न्यौपानेले बताए।