‘बादल’ पत्नी थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी नैनकला थापाले प्राप्त गर्नुभएको छ । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का धर्मपत्नी थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहिबार सो जिम्मेवारी प्रदान गर्नुभएको हो ।

रुपन्देहीको बुटवलमा जन्मनुभएका सञ्चारमन्त्री थापा यसअघि राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भएर चार वर्षे जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । त्यस्तै, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिलासम्वन्धी विज्ञ समुह सदस्यको रुपमा पनि उहाँले अनुभव प्राप्त गर्नुभएको छ ।

यसअघि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा रहनुभएका सञ्चारमन्त्री थापा पछिल्लो समय श्रीमान बादलसँगै नेकपा (एमाले) मा प्रवेश गर्नुभएको थियो । २०३५–०३६ सालदेखि नै राजनीतिमा सक्रिय रहनुभएका मन्त्री थापाले स्नातकसम्कको अध्ययन गर्नुभएको छ ।

रुपन्देहीमा जन्मनु भएपनि हाल चितवनको बासिन्दा रहनुभएका सञ्चारमन्त्री थापाले कालीका माध्यमिक विद्यालय बुटवल र नारायणी मावि चितवनमा लामो समय शिक्षिकाको रुपमा अध्यापन गराउनुभएको थियो ।

सञ्चारमन्त्री थापा २०३८ मा नेकपा (चौम) पार्टी सदस्य, २०३८ मै अ.ने.म.संघ जिल्ला सचिव, २०४२ मा अ.ने.म.संघ केन्द्रीय महासचिव, २०४७ मा अ.ने.म.संघ केन्द्रीय संंयोजक, २०५० मा एकीकृत अ.ने.म.संघ केन्द्रीय महासचिव, २०६४-२०६८ मा राष्ट्रिय महिला आयोगको अध्यक्ष भएर काम गरिसक्नुभएको छ ।