किराँतीहरुको खुवालुङ ढुंगो संरक्षण गर्ने प्रदेश सरकारको घोषणा

प्रदेश नम्बर–१ सरकारले सप्तकोसी नदीमा अवस्थित खुवालुङ ढुंगो संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को संघीय बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सप्तकोसीमा अवरोध हटाएर जल यातायात सञ्चालन गर्ने घोषणा गरेका थिए । त्यसको लागि बजेटसमेत विनियोजन गरिएको थियो ।

तर, बिहीबार प्रदेशसभामा प्रस्तुत गरिएको प्रदेश–१ सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत खुवालुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने घोषणा गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोसी जलाधार तथा जल पर्यटन सम्भाव्यता अध्ययन गरिने र खुवालुङको संरक्षण गर्दै ऐतिहासिक तथा धार्मिक क्षेत्र बनाइने घोषणा गरे ।

किराँतको धार्मिक तथा सांस्कतिक महत्वको विषयवस्तुको खोज, अनुसन्धान गर्ने पनि सरकारको कार्यक्रममा समेटिएको छ । अरुण सभ्यताको खोजी गर्ने र किराँत संस्कृतिको प्रवद्र्धन गर्नेसमेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

यसअघि, खुवालुङ ढुंगोले पानीजहाज सञ्चालनमा अवरोध गरेको भन्दै हटाउने योजना बनेपछि स्थानीय रुपमै विरोध भएको थियो । विरोधपछि संघीय सरकार खुवालुङ फुटाउने अथवा हटाउने अभियानबाट पछि हटेको थियो ।