गण्डकीमा ढल्यो सरकार, मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन सकेनन्

प्रदेश सभामा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत लिन सकेनन् । बिहीबार विश्वासको मत लिन गुरुङले प्रदेश सभामा प्रस्ताव पेस गरेका थिए ।

तर, गुरुङले जम्मा २७ सांसदको समर्थन पाए । गुरुङको विपक्षमा ३० मत परेको छ । ५८ जना सांसद उपस्थित भएकोमा ५७ जनाले मतदान गरेका छन् । विश्वासका लागि मुख्यमन्त्रीले प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे ।

मुख्यमन्त्री गुरुङलाई एमालेका सांसदको मात्र मत परेको हो । विपक्षमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदले मत दिएका छन् ।
युवा तथा खेलकुदमन्त्रीसमेत रहेका स्वतन्त्र सांसद दिपक मनाङे अनुपस्थित रहे । उनी अनुपस्थित रहेपनि सभामा ५७ मत खसेको थियो । एक जना तटस्थ बसेको अधिकारीले जानकारी दिए ।

यसअघि २ वैशाखमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रस्तावउपर २७ वैशाखमा मतदान गर्ने कार्यक्रम रहेकोमा एक दिनअघि २६ वैशाखमा मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए ।

मुख्यमन्त्रीको राजीनामासँगै सोही दिन प्रदेश प्रमुखले तीन दिनको समय दिएर बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकी थिइन् । विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गरे पनि दाबी नपुगेको भन्दै सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः गुरुङ नै नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।