तीन लाखको फूल ओइलाएर स्वाहा

डिसेन्ट वैद्य सन् २०१२ मा अमेरिकाबाट नेपाल फर्के। कृषिमा बिएससी गरेका उनी नेपालमै आधुनिक खेती गर्न र यसैलाई आफ्नो व्यवसाय बनाउन चाहन्थे।

उनले भक्तपुरको थिमीमा एक रोपनी जग्गा भाडामा लिए र गोलभेँडा खेती गरे। तर, व्यावसायिक रूपमा सफल हुन सकेनन्। उनलाई दुइटा समस्या पर्‍यो।

एक त, जग्गामा पानी जमेकाले उब्जनी राम्रो भएन। अर्को, बजारमा भारतबाट आयातित गोलभेँडाको बिगबिगी थियो। उनले भारतीय गोलभेँडासँग प्रतिस्पर्धा गर्न सकेनन्।

डिसेन्ट फेल खाए, उनको गोलभेँडा फेल खायो। गोलभेँडापछि उनले हात हाले, फूल खेतीमा। यो सन् २०१३ को कुरा हो। काठमाडौं लगायत सहरी क्षेत्रमा फूलको बजार फस्टाउँदो थियो। बिहेमा नवदुलाहा, नवदुलहीलाई शुभकामना दिन होस् वा भ्यालेन्टाइन्स डेमा प्रेमी-प्रेमिकाबीच माया साट्न, पुष्पगुच्छाको प्रयोग बढ्दो थियो।

डिसेन्टले तीन जना साथीसँग मिलेर १५ लाख रूपैयाँ लगानी गरी भक्तपुर, सूर्यविनायकमा फूल खेती गरे। सुरूमा बाँसको पाँचवटा टनेल बनाएर तीन हजार फूलको बिरूवा रोपेको उनी बताउँछन्। त्यसको एक वर्षपछि साझेदारी गरेका तीन जना साथी अलग भए। डिसेन्टले एक्लै भए पनि त्यसलाई निरन्तरता दिए।

बढ्दो बजार र आफ्नो मेहनतका कारण उनी व्यवसायमा विस्तारै जम्दै थिए। त्यही बेला यस्तो घटना भयो, जसले डिसेन्टको सम्पूर्ण योजनाको नीब हल्लाइदियो। कोरोना भाइरसको काँडाले धेरैजसो उद्योग, व्यवसाय प्रभावित भएका बेला उनको फूल कसरी टिक्न सक्थ्यो!

उनले मलजल नहालेका त होइनन्, आफ्नो पसिनाले सिंचित नगरेका पनि होइनन्। तर, जब मान्छेको जीवनको लय नै बिथोलिन्छ, त्यस्तो बेला कुन फूल ओइलाउँदैन र!

डिसेन्टको फूल व्यवसाय अहिले यही महामारीको प्रकोप झेल्दैछ। खेतमा मगमग बसाएको फूल समयमा टिपेर बेच्न नपाउँदा खेतमै ओइलाएर झर्न थालेको छ। कति त ओइलाएर झरिसके, जसलाई उनले टिपेर खेतमै मलखादका रूपमा प्रयोग गरिरहेका छन्।

कोरोना महामारी सुरू भएयता करिब दुई वर्षदेखि निरन्तर घाटा खाँदै आएका डिसेन्ट भन्छन्, ‘फाइदा त परै जाओस्, साँवा पनि उठाउन सकेको छैन। कतिञ्जेल यी फूल टिपेर फ्याँक्नुपर्ने हो थाहा छैन। बूढापाकाहरूले न गरिखाऊँ न मरिजाऊँ भनेको सुनेको थिएँ। अहिले आफैं भोग्दैछु।’

डिसेन्ट सञ्चालक रहेको सूर्यविनायक फूलबारी एग्रो सात रोपनी जग्गामा फैलिएको छ। उनले जबेरा र कार्नेस जातको फूलका पाँच हजार बिरूवा लगाएका थिए। यी फूलको तीनवर्षे बाली हुन्छ। पहिलो बालीमा थोरै उत्पादन हुन्छ भने दोस्रो र तेस्रो बाली राम्रो हुन्छ। पहिलो वर्ष उनले दुईदेखि तीन लाख रूपैयाँसम्मका फूल बेचे। ठ्याक्कै दोस्रो बालीको फूल टिप्ने र बेच्ने बेला पहिलो चरणको कोरोना लकडाउन सुरू भयो।

‘पोहोर वैशाखदेखि दोस्रो बाली बेच्ने योजना थियो, चैतदेखि नै लकडाउन भयो,’ उनले भने।

लकडाउन आदेशले मानवीय गतिविधि पो रोक्न सक्छ, प्राकृतिक प्रक्रिया कहाँ पाएर रोकियोस्! लकडाउनमा पनि फूल त फुलिहाल्छ। फुल्नेबित्तिकै टिपेन भने ओइलाएर झरिहाल्छ। फूलको मूल्य बोटमा फुलुञ्जेल मात्र हो। समय रहँदै टिप्न सकिएन र सुकेर भुइँमा झर्‍यो भने त्यो रद्दी कागज बराबर हुन्छ।

डिसेन्टले लाखौं मूल्यको ठानेका फूलहरू पनि हेर्दाहेर्दै बिनामूल्यका रद्दी कागजझैं भए। त्यति बेला उनको खेतमा १५ हजार थुँगा फूल बजार जान तम्तयार थिए। प्रतिथुँगा २० रूपैयाँका दरले त्यसको बजार मूल्य तीन लाख थियो। लकडाउनले बजार बन्द भएपछि उनको तीन लाख स्वाहा भयो।

लकडाउन खुकुलो हुँदै गएपछि डिसेन्टले गत असारमा सयपत्री फूल लगाए। उब्जनी राम्रै भएको थियो, तर भारतीय फूलसँगको प्रतिस्पर्धामा पछि परेर एकदमै सस्तोमा बेच्नुपरेको उनी बताउँछन्।

‘तिहारलाई लक्ष्य गरेर अलिकति सयपत्री लगाएको थिएँ। त्यही बेला भारतबाट ह्वारह्वार्ती सस्तो फूल आयात भएपछि आफूले पनि सस्तोमा बेच्नुपर्‍यो,’ उनले भने, ‘करिब २० हजार रूपैयाँ आम्दानी भयो होला। त्यत्रो मेहनेत र त्यत्रो समयको लगानीपछि २० हजार कमाइ हुन्छ भने कसरी टिक्न सकिन्छ?’

उनले जग्गाको भाडा नै वार्षिक एक लाख २० हजार तिर्नुपर्छ। कामदार र बिरूवालाई चाहिने औषधि, पानी र मलमा महिनाको २५ देखि ३० हजार खर्च हुन्छ।

तै पनि उनले हरेस खाएनन् र यसपालि चैत-वैशाखमा बेच्न ठिक्क हुने गरी ठूलो परिमाणमा फूल खेती गरे। पहिले करिब तीन हजार बिरूवा लगाउँथे, यसपालि पाँच हजार लगाए। बाँसको टनेल हटाएर प्लास्टिकको टनेल हाले। जनशक्ति भने घटेको छ। पहिले उनको नर्सरीमा पाँच जना काम गर्थे, अहिले जम्मा दुई जना छन्।

उनी अघिल्लो लकडाउनको घाटा उकास्न चाहन्थे। तर, उनको योजना यसपालि पनि पानीमा गयो। फूल टिपेर बेच्नुपर्ने बेला कोरोनाको दोस्रो लहर चल्यो। बजार ठप्प भयो। बिहेको सिजन परेकाले हजार थुँगाजति फूल उनले सिधै फार्मबाटै बेचे। त्यसबाहेक अरू सबै फूल मल बनाउन प्रयोग गरिरहेका छन्।

दोस्रो निषेधाज्ञामा थप तीन लाख रूपैयाँ बराबरका फूल स्वाहा भएको उनी बताउँछन्। ‘पहिले सिजनमा गुणस्तरीय फूलहरू होलसेल जान्थ्यो, केही फूल छानेर मन्दिरमा पठाइन्थ्यो। लकडाउनमा होलसेल पनि बन्द भयो, मन्दिर पनि,’ उनले भने, ‘यसपालि त साँवा पनि उठेन। अब यो बिरूवाबाट अर्को उत्पादन लिन सकिँदैन।’

फूल व्यवसाय मौसमी हुन्छ। फुल्ने याममा टिपेर बेच्न पाइएन भने त्यसको कुनै महत्व हुँदैन। एकचोटि ओइलाएर झरेपछि सबै फूल खेर जान्छ, डिसेन्टले भने, ‘अरू व्यवसायमा जस्तो लकडाउन खुलेपछि कमाउँला भन्ने सहुलियत हामीलाई हुँदैन। हामीले फूल बेच्ने बिहे, ब्रतबन्ध, होटल-रेस्टुरेन्ट र मन्दिरमा हो। अहिले यी सबै बन्द छन्। महामारी बेला मानिसले शुभकार्य पनि गर्दैनन्। लकडाउन खुले पनि यो वर्ष हामीलाई घाटै भयो।’

उनका अनुसार फूल व्यवसायीहरूका लागि यो भुइँचालोपछि दोस्रो ठूलो घाटा हो। ‘भुइँचालोमा त बरू आफन्त भेटिन्थ्यो, उपहार दिइन्थ्यो, मन्दिरमा चढाइन्थ्यो। अहिले त रोग फैलिएको छ भनेर कोही कसैकोमा जाँदैन, मन्दिर पनि बन्द छ। कसरी बेच्नु, कसले किन्नु?’ उनले भने।

अहिले फूल व्यवसायमा लागेका धेरैको अवस्था डिसेन्ट वैद्यको जस्तै छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजुका अनुसार कोरोना लकडाउनले व्यावसायिक फूल खेती गर्ने सात सय हाराहारी प्रभावित छन्। करिब छ अर्ब रूपैयाँ लगानी धरापमा छ।

तरकारी वा फलफूलमा जस्तो प्रशोधन सुविधा नभएकाले फूल व्यवसायी बढी मारमा परेको उनको भनाइ छ।

‘बरू दूध नबिके दही, मोही, पनिर बनाउन मिल्छ। तरकारी नबिके सुकाएर अरू उत्पादन बनाउन मिल्छ। फूल भने टिप्नेबित्तिकै बेच्नैपर्छ। अरू उपाय छैन,’ उनले भने।