हामी आफ्नो भूमि अतिक्रमण स्वीकार्दैनौं : गृहमन्त्री अधिकारी

गृहमन्त्री खगराज अधिकारीले नेपालको भूमि अतिक्रमण अस्वीकार्य रहेको बताएका छन् । गृहमन्त्री भएपछि पहिलो पटक सशस्त्र प्रहरी बल (एपीएफ) प्रधान कार्यालयको निरीक्षणमा पुगेका मन्त्री अधिकारीले नेपाल सदियौंदेखि स्वतन्त्र र सार्वभौम राष्ट्र भएको र त्यसलाई बचाइराख्न देशको एक इन्च पनि भूमि कसैलाई अतिक्रमण गर्न नदिइने बताए ।

मन्त्री अधिकारीले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई सशक्त र साधनस्रोत सम्पन्न बनाइने पनि स्पष्ट पारे । ‘सदियौंदेखी सार्वभौम र सगरमाथाको देशका साथै कसैको पनि उपनिवेश नभएको नेपाललाई कसैको एक इन्च पनि जमिन चाहिदैन र हामी पनि आफ्नो भूमि अतिक्रमण स्वीकार्दैनौं,’ मन्त्री अधिकारीले भने, ‘सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको उपस्थिति मजबुद पारिएको छ, यसलाई अझ सशक्त बनाउछौं ।’

उनले सीमा सुरक्षा एवं कोभिड संकट व्यवस्थापनका क्रममा सीमाबाट हुने आवागमन नियन्त्रण तथा नियमनमा सशस्त्र प्रहरीको योगदान उच्च रहेको बताए । उनले आफू शासक नभई साथी रहेको बताएका थिए । ‘म शासक होइन, तपाईंहरु सबैको साथी हो, बिसम परिस्थितिमा सशस्त्र प्रहरीले निभाएको भूमिका प्रशंसनीय छ, बिसम र प्रतिकूल परिस्थितिमा स्थापना भएको फौजलाई सशक्त पार्न कुनैपनि कसरत बाँकी राखिने छैन ।’

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनमा शून्य सहनशीलताको नीति अपनाउँदै तोकिएका जिम्मेवारी सोही अनुसार सम्पादन गरिएको बताए । सीमा सुरक्षा सरकारको उच्च प्राथमिकतामा परेको र त्यसलाई सार्थकता दिनकै लागि सशस्त्रलाई ताप्लेजुङको ओलाङचुङगोला देखि दार्चुलाको छाङरु तथा नवलपरासीको सुस्तादेखि कञ्चनपुरको ब्रम्हदेवसम्म सशस्त्रका गण/गुल्म तथा बीओपीहरु विस्तार गरिएको बताए । गृहमन्त्रीको निरीक्षण कार्यक्रममा उपत्यकाभित्र उपलब्ध प्रहरी निरीक्षक र त्यसभन्दामाथिका सबै दर्जाका अधिकृत सहभागी थिए भने देशभरका प्रहरी युनिटमा मन्त्रीको निर्देशन सम्बोधन सुन्ने व्यवस्था गरिएको थियो ।