पूर्वराजा र राजावादीहरूले आफूलाई राष्ट्रवादी भन्न सुहाँउदैन : डा. बाबुराम भट्टराई

नता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा र राजावादीहरूले आफूलाई राष्ट्रवादी भन्न नसुहाउने दाबी गरेका छन् ।

देशका विभिन्न स्थानमा पूर्व राजावादीले राष्ट्रिय झण्डा लिएर गरिरहेका प्रदर्शनप्रति लक्षित गर्दै भट्टराईले अरू जे सुकै दाबी गरेपनि राजावादीहरूले राष्ट्रवादी भन्न नमिल्ने बताएका हुन् ।

‘पूर्वराजा र राजावादीहरूले अरू जेसुकै दाबी गरेपनि आफूलाई’ राष्ट्रवादी’ चाहिँ नभनून । उनको जस्तो धर्मको राजनीति देशबाहिर कसले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून् । नेपालमा गणतन्त्रको जग हल्लिँदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ सोचून्,’ भट्टराइले शुक्रवार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

पूर्व राजावादीहरूको प्रदर्शनलाई मूलधारका राजनीतिक दल र गणतन्त्रप्रतिको वितृष्णाका रूपमा सामाजिक सञ्जालमा कतिपयले टिप्पणी गरिरहेका छन् ।