वास्तु शास्त्र अनुसार घर बनाउनु अघि भूमि परीक्षण गर्ने पाँच सूत्रहरु

वास्तु शास्त्रका अनुसार कस्तो ठाउँमा बनाउने घर ? धेरैले वास्तु शास्त्रहरुलाई गृहनिर्माणको सूत्रको रुपमा मान्ने गरेका छन् । मनोनुकूल भू– चयन पछि भूमिको परीक्षा गर्नुपर्छ । भू–परीक्षणको कैयौं विधिहरु हुन्छ । यद्यपि सर्वाधिक प्रचलित विधि जल एवं माटोको परीक्षण मार्फत् घर निर्माण कस्तो ठाउँमा गर्ने भन्ने हो । यसको बारेमा विभिन्न शास्त्रहरुले उल्लेख गरेका छन् । जसमा वृहद् संहिता, वास्तुसौख्य, समराङ्गण सूत्रधार, मत्स्य पुराण आदिमा यसबारे उल्लेख गरिएको छ ।

जल परीक्षा
जल परीक्षा भूमि पहिचान गर्ने एक सरल तरिका हो । भूमिमा एक हात लामो, चौडा एवं गहिरो खाल्डो खन्नुपर्छ । यसमा भरी पानी भरेर त्यसको एक सय कदम पर गएर पुन: फेरि सोही खाल्डोमा आउँदा पानी कति सुकेको छ ? भन्ने आधारमा त्यो माटो राम्रो कि नराम्रो भन्ने यकीन गर्ने विधि हो जल परीक्षा ।

यदि खाल्डो पानीले भरिएको छ भने गृह निर्माणको लागि त्यो उत्तम भूमि मान्ने गरिन्छ । यदि चौथाई पानी सुकेको छ भने मध्यम एवं खाल्डोमा आधाभन्दा धेरै पानी कम भएको छ भने भूमि घर बनाउनको लागि अनुपयुक्त हुने उल्लेख छ ।

वास्तु सौख्य सूत्रमा भनिएको छ :

श्वभ्रमथवाम्बुपूर्णं पलशतमित्वा गर्तस्य यदि नोनम्
तद्धन्यं यश्च भवेत्पालानि यां स्वाटक चतुष्षष्टि:

जल परीक्षाको दोस्रो विधि अनुसार सूर्यास्तको समय अघि माथि भनिएको माप अनुसार खाल्डो खनेको ठाउँमा पानी भर्ने गरिन्छ । दोस्रो दिन बिहान यदि खाल्डोमा पानी बचेको छ भने भूमि प्रशस्त, पानी छैन तर माटो गिलो छ भने त्यो भूमि मध्यम र खाल्डो चिरिएको छ भने सो भूमि गृह निर्माणको लागि उपयुक्त हुँदैन भन्ने शास्त्रीय मान्यता छ ।

माटो परीक्षा
माथि उल्लेख गरिएको नापको खाल्डोबाट निकालिएको माटोबाट पुन: खाल्डोलाई भर्नुपर्न । यदि खाल्डो भर्दा पहिले खन्दाको समयको माटो भरियो भने त्यो घर बनाउनको लागि उपयुक्त मानिन्छ । यदि पूरा माटो खाल्डोमा ठिक्क भयो भने त्यो माटोको लागि सामान्य मानिन्छ । एवं माटो कम भयो भने त्यो भूमि गृह निर्माणको लागि उपयुक्त नहुने वास्तु शास्त्रहरुमा उल्लेख छ ।

यसैलाई वास्तुसौख्यमा भनिएको छ :

गृहमध्ये हस्तमितं खात्वा परिपूरितं पुन: श्वभ्रम्
यद्युनमनिष्टं तत्समे समं धन्यमधिकं यत्

यी दुई विधिहरुका अतिरिक्त पनि भूपरीक्षणका अन्य विधिहरु समेत रहेको पाइन्छ । जुन यस प्रकारको छ :

स्वर परीक्षा
यदि ठूलो ढुंगा वा धातुले हान्दा भूमिमा उच्च स्वर आयो भने त्यो भूमि ठोस स्वभावको छ भन्ने जान्न सकिन्छ । जुन घर बनाउनको लागि उपयुक्त मानिन्छ । भूमिबाट उत्पन्न स्वरको तुलनामा मृदङ्ग, वेणु, हात्ती, घोडा जस्ता जनावरहरुको गर्जनसँग तुलना गरिएको छ ।

स्पर्श परीक्षा
जुन भूमि ग्रीष्म कालमा शीतल एवं शीत कालमा उष्ण एवं वर्षा ऋतुमा शीतोष्ण हुन्छ । त्यो भूमि गृह निर्माणको लागि प्रशस्त हुन्छ । यसैलाई पुष्टि गर्नको लागि समराङ्गण सूत्रधारमा भनिएको छ :

घर्मागमे हिमस्पर्शा या स्यादुष्णा हिमागमे
प्रावृष्युष्णहिमस्पर्शा सा प्रशस्ता वसुन्धरा

पुष्प परीक्षा
भूमिमा खनिएको खाल्डोमा सेतो, रातो, पहेँलो, एवं कालो वर्णको फूल राति राख्नुहोस् । विहान जुन वर्णको फूल सबैभन्दा अधिक प्रफुल्लित देखिन्छ । सो वर्णका अनुसार मानिसहरुको लागि त्यो भूमि सर्वाधिक उपयुक्त मानिन्छ । यस विधिको वर्णन समराङ्गण सूत्रधार र वृहत्संहितामा उल्लेख गरिएको छ ।