घरमा अन्न छैन, कन्दमुल, आँप र चिउरी खोज्न जंगलतिर

पोल्किमकी ५७ वर्षीया चन्द्रीमाया चेपाङ जंगलमा आँप र चिउरी खोज्दै थिइन्। घरमा पकाएको खानेकुरा छैन। अन्न नभएपछि पाकेको आँप र चिउरी खोज्दै जंगल चहार्दै थिइन् उनी। पाकेको नपाएपछि काचै आँप खाएर भए पनि उनले भोक टारिन्।

‘कतै आँप त कतै चिउरी पाक्यो कि भनेर खोज्दै हिँडेको’ चन्द्रीमायाले भनिन्, ‘त्यही आँप पनि असिनाले झार्‍यो। दुई तीन दाना खाएर भोक टारेँ।’ परिवारमा छाक टार्नै समस्या छ। कसैले राहत देला कि भन्ने आशमा बसेकी छन् उनी। उनको घर राप्ती नगरपालिका–१३ मा पर्छ। नगरपालिकै भए पनि यो विपद्को बेलामा कोही जनप्रतिनिधि पुगेका छैनन्।

चेपाङका घरमा अन्न छैन। १५ दिन अघिसम्म बनमा गएर गिट्ठा र भ्याकुर खान्थे उनीहरू। त्यो पनि हुर्किएर छिप्पिएपछि टाँकी र लट्टेको साग खाने गर्छन्। गत वर्षको मकै सकियो। मकै पाक्न अझै एक महिना लाग्छ। त्यति बेलासम्म कसरी धान्ने भन्ने चिन्ता चेपाङ समुदायमा छ।

६० वर्षीया विन्दुमाया चेपाङको घरमा पनि खानेकुरा छैन। परिवार ठूलो छ। मागेर ल्याएको एक माना कोदोको पिठो झोलाबाट निकालेर देखाउँदै त्यसलाई अड्कली–अड्कली खाने गरेको उनले बताइन्। ‘पेटभरि खाए एकैपटक सकिन्छ। थोरै–थोरै खाने हो’ उनले भनिन्, ‘पाएको बेला पेटभरि खाइयो। अहिले केही छैन कहाँ गएर खाने ?’

सोही ठाँउका ५४ वर्षीय रामबाबु चेपाङले पनि पेटभरि खान नपाएको दुखेसो पोखे। उनी मजदुरी गर्थे। लकडाउनका कारण अहिले गाउँमै छन्। ‘चिउरी पाक्न थालेको छ। अब त्यही खाने हो’, उनले भने।

लकडाउनका कारण मजदुरी गर्न नपाउँदा आम्दानी छैन। किनेर खान नसकेपछि उनीहरू कन्दमूलको भरमा बाँचेका छन्। गिट्ठा हुर्किसकेको छ। जंगलमा अब टाँकी र लट्टेको साग मात्र छ। अहिले त्यही खाएर छाक टारेका छन्। ‘अहिले मान्छेहरू रोगले भन्दा भोकले चापाचाप छ’ लक्ष्मण चेपाङले भने, ‘अनिकाल छ टाँकीको साग र लट्टेको भरमा बाँच्नु परेको छ।’ उनी वडा सदस्य हुन्। उनीसमेत राहतको पर्खाइमा बसेका छन्। नगरपालिकाले केही गरेको छैन।

राप्ती नगरपालिकाको १३ नम्बरका स्यामराङ, पोल्किम, सान्थलीलगायतका गाउँ जिल्लाकै दुर्गम भेग हो। पाखो बारीमा लगाएको मकैले आधा वर्ष मात्रै खान पुग्छ। हरेक वर्ष अनिकालको सामना गर्नुपर्छ। यस वर्ष कोभिड संक्रमणको जोखिमले लकडाउन भएपछि बजारी क्षेत्रमा काम गर्न जान पाएनन्। खाद्यान्न अभावले उनीहरूको जनजीवन कष्टकर बनेको छ।

चितवनका विभिन्न चेपाङ गाउँ पुगेका चेपाङ अभियन्ता केपी किरण शर्माले खानेकुराको चरम अभावले विकराल अवस्था आएको बताए। चेपाङ गाउँमा भएको अनिकाल टार्न उनले १८ दिनदेखि राहतका लागि समन्वय गरिरहेका छन्। ‘जुन घरमा छिर्छु त्यहाँ अन्नको दाना देख्दिन। अनि मन भक्कानिन्छ’, शर्माले भने, ‘राहतको सारै खाँचो छ। राहत दिन चाहनेहरूसँग समन्वय गरेर केही गाउँमा राहत ब्यवस्था भयो। अझै त्यस्ता गाउँ छन् जहाँ राहत पुग्न सकेको छैन।’