खेत बगायो, घर डुब्यो तर फिल्ड रिपोर्टिङमा अभ्यस्त थिए पत्रकार जगन्नाथ

कुनै फिल्मी कहानी जस्तो लाग्ने कथामा बगिरहेका थिए पत्रकार जगन्नाथ दुलाल, १ असारका दिन। मेलम्ची बजार बाढीको रौद्र कहरमा बगिरहेको थियो, उनी बुम बोकेर रिपोर्टिङमा अभ्यस्त थिए।

ति बजार र बस्तीका कयन पीडा र आँसुलाई राज्यसम्म सुनाउने पेशामा सक्रिय रहेका दुलाल त्यसै बेगभित्रका एक पीडित थिए। इन्द्रावतीले बगर बनाएका खेतहरूमा उनका खेतहरु मिसिए, भर्खरै बनाएको घरको तल्लो तला त देख्न सक्ने अवस्थामा थिएन, पहिलोको पिल्लरमा गएर उभिए।

न्युज २४ टेलिभिजनका लागि रिपोर्टिङ गरिरहेका, पीडितका लागि वकालत गरिरहेका प्रेस युनियन काठमाडौंका अध्यक्ष दुलाल भन्छन्,‘पीडितहरू छिमेक र आफन्त थिए। उनीहरुका पीडा सुन्दासुन्दै हाम्रै घर र खेत बगाएको सूचना उनीहरूबाट लिँदा त्यति निको त लागेको थिएन तर कर्मलाई पुजा गर्नु हाम्रो दायित्व हो।’

विपदका बेला जसरी प्रहरी, सेनालगायतका सुरक्षा निकायका कर्मठदेखि अनेक व्यक्ति आफ्ना नीजि वेदनालाई कतै लुकाएर जनताको सेवामा लागिरहेका हुन्छन् पत्रकारिता पनि त्यो भन्दा भिन्न नभएको भन्ने एक उदाहरणीय कमान्डर हुन् दुलाल।
एकातिर कोरोना महामारीको बढीरहेका कारण बुवाआमालाई भने काठमाडौंमा दुई साता अघिमात्र ल्याएर राखेका उनले काकालाई भेटे। पीडाको त्यो भावसागरभित्र काका मनमात्र बगर भएका थिएनन्, धेरैका सपनाहरुमा बालुवा छिरेका थिए।

‘घरखेत खत्तम भयो भन्ने चिन्तामा डुबेका अनेकका आँसु देखिरहँदा मेरा पनि मनमा भक्कानु छुटे तर सबैका रोएका मन देख्दा आफू सम्हालिए पनि बुवाआमालाई कसरी सुनाउने भन्ने चिन्ता थियो’, उनी सम्झन्छन्।

केदार दुलाल उनका तिनै काका हुन् जसले घर जमिनको रेखदेख गरिरहेका थिए। उनी बाढीले क्षतविक्षत बनाएपछि सडकमा भेटिएका थिए।

२०७२ को भूकम्पमा पनि उनले आफ्नो भत्किएको घर र घाइते भएकी आमाको वास्ता नगरीकनै रिपोर्टिङ गरेका थिए। सोही घरको पुननिर्माण गरी साढे दुई तला बनाएका थिए।
रिपोर्टिङ सकेर उनी आफ्नो घर हेर्न गए। आफ्नो घरका पिल्लरमा छुँदा जुन पीडाबोध उनले महसुस गरे, उनले रिपोर्टिङका क्रममा संवाद गरेका पीडितहरुका मनलाई पनि नजिकबाट बुझ्न सक्ने भए।

‘पीडा कुनै अमुक कथा होइन रहेछ, पीडा भनेको जीवनभरीका सपनाहरु एक झड्कामा खरानी हुँदा पोल्ने मन रहेछ’, उनी भन्छन्,‘यस्तो पीडा अब कसैलाई नहोस्। राज्यले यी पीडा त पुर्न सक्तैम, मल्हम लगाउनसम्म सकोस्।’