वैदेशिक रोजगारी छोडेर गाउँमै कृषि, ग्राहकलाई तरकारी पुर्‍याउन भ्याइनभ्याइ

भारतबाट फर्केका युवा देवबहादुर खड्काले सन्धिखर्क नगरपालिका–१० बिहारमा प्लास्टिक टनेलभित्र गोलभेंडा, सिमी, बोडी, घिरौला, काँक्रालगायत तरकारी लटरम्मै फलाएका छन् । कोभिड–१९ को महामारीमा उनलाई सन्धिखर्क बजार र घरमै आउने ग्राहकलाई तरकारी पुर्‍याउन भ्याइनभ्याइ छ ।

कोरोना संक्रमणका बेला तरकारी माग धेरै भयो । घरमा यत्तिकै बस्नुभन्दा खालि जमिनमा आफैं उत्पादन गरेर उपभोक्तालाई ताजा तरकारी खुवाउन यतिबेला उनी सक्रिय छन् । ‘गोलभेंडा नपाक्दै बिक्री हुन्छ,’ खड्काले भने, ‘अन्य तरकारीको माग पनि उस्तै छ ।’ कोरोना महामारी लाग्यो भनेर चिन्ता मानेर यत्तिकै बस्नुभन्दा बारी खोर्सेर तरकारी उत्पादन गरेको उनले बताए ।

उनले वर्षमा ५ लाखभन्दा बढी बैंक बचत गर्छन् । कोरोनाका कारण सन्धिखर्कका व्यापारीले बुटवल र तराईबाट तरकारी ल्याउन सहज छैन । संक्रमण फैलिने डरले धेरैले गाउँकै तरकारी खरिद गरेर बिक्री गर्छन् । यस बेला तरकारी बजारमा अभाव छ । गाउँमा व्यापारी खरिद गर्न पुगेपछि खड्का उत्साहित छन् । लामो समय भारतमा रोजगारी छाडेर स्वदेश आएका खड्काले अहिले तरकारीसँगै दूध उत्पादनका लागि दुई मुर्रा भैंसी पालेका छन् । ‘अब कृषितिरै लाग्छु,’ उनले भने, ‘युवा जनशक्तिले कृषि उत्पादन गरेर गाउँलाई स्वरोजगार र आत्मनिर्भर बनाउनुपर्छ ।’ युवा उमेरमा विदेशी भूमिमा रोजगारी खोज्दै जाने, परिवार सहरमा ल्याउन र गाउँमा वृद्धवृद्धा मात्रै हुँदा उब्जनी हुने खेतीयोग्य जमिन बाँझिँदै गएर उत्पादन घट्दो भएको खड्काले बताए ।

पाणिनि गाउँपालिका–१, पणेनाका रेतवीप्रसाद पौडेलले पाखोबारीमा तरकारी खेती गरेका छन् । सुन्तलाका बोटमुनि काउली, बन्दा, मुला, साग, भिन्डी, फर्सीलगायत तरकारी उत्पादन भएका छन् । ‘पाखोबारीमा तरकारीबाट मनग्य आम्दानी भएपछि विदेश जान छाडें,’ उनले भने, ‘कोरानाको बेला गाउँमै तरकारी उत्पादन गरेर सहर पठाएँ । आफ्नै ठाउँमा कृषिकर्मले भविष्य उज्ज्वल छ ।’ उनले तरकारी र सुन्तलाबाट वर्षमा ६ लाख रुपैयाँ आम्दानी गर्छन् । युवा कृषक चिरञ्जीवी पौडेलले बाँझो बारी खनेर तरकारी फलाएका छन् । ‘पाखोबारीमै दुःख गरेपछि तरकारी उत्पादन राम्रो छ,’ उनले भने, ‘वर्षाको तरकारी तराईका सहरबाट माग बढी हुन्छ । कोरोनाका बेला सहरबाट पहाडको तरकारी धेरै खपत भयो ।’

गाउँमा केही गर्न नसकिने भन्दै वैदेशिक रोजगारीमा गएका युवामध्ये केहीले फर्केपछि बारी कोरेर तरकारी खेती, मसलाबाली गरेका छन् । दूध उत्पादनका लागि उन्नत जातका गाईभैंसी पाल्ने र खसीबोकाका लागि बाख्रा पाल्ने गरेका छन् । राम्रोसँग काम गरेर रोगकिराबाट जोगाउन सकेमा कृषिबाट पनि स्वरोजगार बन्न सकिने उनले बताए । कृषि उत्पादन गर्दा पूरै शरीर हिलाम्ये र धूलो हुन्छ । माटोमा काम गर्दा हातखुट्टा फुट्न सक्छन् तर ताजा तरकारी खान पाइने र बिक्री गरेपछि मनग्य आम्दानी गर्न सकिने उनले बताए । केही वर्षदेखि नरपानीमा युवा कृषक गुणनिधि न्यौपानेले पाखोबारीमा तरकराी खेती गरेका छन् । भिरालो बारीमै बोटमा मल र जल मिलाउन सकेमा उब्जनी राम्रो हुन्छ ।