गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर खोज्न नहुने बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल टुइटरमा टुइट गर्दै डा. भट्टराईले अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाँकी गिलास भर्न युवाहरुलाई सुझाव दिएका छन् ।

रिसको झोकमा आधा भरिएको गिलास घोप्ट्याएर पुरै गिलास खाली गराउन खोज्नु राम्रो संकेत नभएको बताएका छन् । उनले लेखेका छन् “युवासंग आग्रह-गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ!अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाॅकीगिलास भरौं; नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्! अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाॅसो नबिर्सौं! दुबैसॅग लडेर अघिजाने साहस गरौं!”

उनले अगाडिको स्यालसँग लड्डा पछाडि झ्याङमा लुकेको ब्यासोलाई बिर्सन नहुने भन्दै दुवैसँग लडेर अघि बढ्न सुझाव दिएका छन् ।

बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा देशभर प्रदर्शन भएपछि डा. बाबुराम भट्टराईको यस्तो टुइट आएको हो ।