चीनले विशाल बाँध बनाउने भएपछि भारतलाई तनाव

चीनले तिब्बतमा भारतको सीमानजिक यार्लुङ जाङ्बो नदीमा विशाल बाँध बनाउने भएपछि भारतमा जलसुरक्षा जोखिममा पर्ने भनी चिन्ता व्यक्त गरिएको छ ।

तिब्बतमा उत्पत्ति भएको यार्लुङ जाङ्बो अरुणाचल प्रदेशमा पुग्दा सियाङ भनिन्छ अनि असममा पुग्दा ब्रह्मपुत्र नदी कहलिन्छ । उक्त नदी बंगालको खाडीमा गएर सागरमा मिसिन्छ । चीनको सरकारी समाचार संस्थाले आइतवार एक खबर छापेर उक्त बाँध मेदोग काउन्टीमा बनाइने संकेत दिएको छ । त्यो ठाउँ अरुणाचल प्रदेश नजिक पर्छ ।

चीनले पहिले नै यार्लुङ जाङ्बो नदीमा कैयौं ससाना बाँध बनाइसकेको छ । यस नयाँ बाँधले उत्पादन गर्ने जलविद्युत् चीनको थ्री गर्जेजभन्दा तीनगुणा बढी छ र त्यो नै अहिलेसम्म संसारको सबभन्दा धेरै जलविद्युत् क्षमता भएको बाँध हो ।

चीनको राष्ट्रिय सुरक्षालाई मद्देनजर गर्दै नयाँ बाँध बनाउन लागिएको हो । बाँध निर्माणको आरम्भिक चरणमा पावरचाइनाले अक्टोबर १६ मा तिब्बत स्वायत्त प्रदेशसँग रणनीतिक साझेदारी गरेबाट शुरू भएको हो ।

पावर कन्सट्रक्सन कोर्प अफ चाइना वा पावरचाइनाका अध्यक्ष यान झियोङका अनुसार, यार्लुङ जाङ्बो नदीबाट ६ करोड किलोवाट आवर जलविद्युत् दोहन गर्दा ३०० अर्ब किलोवाट आवर स्वच्छ, नवीकरणीय र कार्बनरहित विद्युत् वार्षिक उत्पादन हुन सक्छ ।

‘सन् २०३० अघि कार्बन उत्सर्जन चरममा पुर्‍याउने र सन् २०६० सम्ममा कार्बन न्युट्रालिटी हासिल गर्ने चीनको लक्ष्य पूरा गर्न यस परियोजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ यानले भने । विज्ञहरूले अन्तर्राष्ट्रिय नदीहरूमा भारतभन्दा चीनको रणनीतिक अग्रता रहेको कुरा पहिलेदेखि नै इंगित गर्दै आइरहेका छन् ।

‘चीनले तिब्बतको जलस्रोतमा स्वामित्व दाबी गरिरहेको छ । दक्षिण एसियाका सात ठूला नदी इन्डस, गंगा, ब्रह्मपुत्र, इरावडी, सालवीन, यांग्त्से र मेकोङ तिब्बतमै उत्पत्ति हुन्छन् । यी नदीको जलको लगभग ४८ प्रतिशत पानी सीधै भारतमा प्रवेश गर्छ,’ लोवी इन्स्टिच्युटले यसै वर्षको जुलाई महिनामा प्रकाशन गरेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भारत र चीनले जल तथ्यांक साझेदारीको सहमति गरेको भए पनि सन् २०१७ को दोक्लम गतिरोधपछि चीनले आँकडा बाँड्न बन्द गरेको छ । तर पछि दुई देशका ऊर्जा मन्त्रालयले यसलाई सुचारु बनाए ।

तर सीमापार नदीलाई चीनले हतियार बनाउन सक्ने डर भारतलाई छ ।

‘चीनको माथिल्लो जलक्षेत्रको हैसियतका कारण सीमापार नदीहरूको पहुँच साझा गर्नका लागि भारतलाई ठूलो चुनौती छ । हालैका समयमा भारत र चीनबीच भएको सीमाविवादले स्पष्ट बनाएको छ, चीनले तल्लो जलक्षेत्र मुलुकहरूमाथिको अग्रतालाई हतियार बनाउन सक्छ । यी नदीहरूमा नियन्त्रण गरी चीनले भारतको अर्थतन्त्रलाई अँठ्याउन सक्ने क्षमता राख्छ,’ लोवी प्रतिवेदनमा उल्लेख गरिएको छ ।