रामजी रामलाई नि:सर्त परीक्षामा सामेल गराउन त्रिवि कार्यकारी समितिको निर्देशन

मंगलबार बसेको कार्यकारी समिति बैठकले नेसनल मेडिकल कलेज वीरगञ्जमा अध्ययरत् विद्यार्थी रामसहित चार जनालाई परीक्षामा सामेल गराउन सम्बन्धित विश्वविद्यालयलाई निर्देशन दिएको छ।

नेसनल मेडिकल कलेज त्रिवि अन्तर्गतकै मेडिकल कलेज हो। ‘छात्रवृत्तिमा पढ्ने विद्यार्थीलाई अतिरिक्त शुल्क नमागीकन निस्सर्त परीक्षामा सामेल गराउन त्रिविलाई निर्देशन दिने निर्णय भएको छ,’ बैठकमा सहभागी चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डिल्ली लुँइटेलले भने, ‘हामीले शुल्क निर्धारण गर्ने हो, शुल्क अनुगमन त्रिविले नै गर्ने हो।’

कार्यकारी समितिको बैठकको निर्णय लेखिसकिएको छैन। निर्णय लेखिसकेपछि त्रिविलाई चिठी काटिने लुइँटेलले बताए। रामजी रामसहित चार जना विद्यार्थीलाई नेसनल मेडिकल कलेजले अवैध शुल्क माग्दै परीक्षा फारम भर्न दिइरहेको छैन।

असार ७ गते रामसहित चार जना विद्यार्थीले चिकित्सा शिक्षा आयोग र चिकित्सा शिक्षा अध्ययन संस्थान ९आइओएम०मा निवेदन दिएका थिए। निवेदन परेपछि आयोगले डिन कार्यालयलाई चिठी लेख्नुपर्थ्यो।

गत साल पनि रामलाई परीक्षामा सहभागी हुन नदिएपछि आयोगले डिन कार्यालयलाई चिठी लेखेको थियो।

परीक्षा फारम भर्नुअघि कलेजले वार्षिक शुल्कबापत् मात्र रामलाई ५ लाख ९८ हजार ५० रुपैयाँ मागेको छ, त्यो उनले तिर्न नपर्ने शुल्क हो।

होस्टल चार्ज भनेर ५५ हजार ४२१, मेस चार्ज भनेर २१ हजार ३९ र इन्टरनेटको भनेर ९ हजार ८ सय रुपैयाँ मागिएको छ। जतिवटा शीर्षकमा मागिएको रकम उनले तिर्न पर्दैन किनभने उनले यी सेवा उपयोग गरेकै छैनन्।

रामजीसहित सरकारले पैसा तिरेर पढाएका पंकजकुमार राम, रूपेशकुमार राम, प्रमोदकुमार रामलाई नेसनल मेडिकल कलेजले परीक्षा आउने बेलामा अवैध शुल्क मागेर फारम भर्न दिएको छैन।